मोफसलमा ब्राण्ड बनाउँदै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक – Nepal Press

मोफसलमा ब्राण्ड बनाउँदै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

रुपन्देही । २०६५ सालमा ७ जना कर्मचारी राखेर बुटवलमा सुरु गरिएको तत्कालीन शाइन डेभलपमेन्ट बैंक अहिले ९८७ जना कर्मचारीसहित ५ वटा प्रदेशमा बिस्तार भएको छ । ६ करोड पुँजीबाट कारोबार सुरु गरेको बैंकको हाल पुँजी ४ अर्ब २८ करोडभन्दा बढी रहेको छ ।

बैंकले माघ मसान्तसम्म ५१ अर्ब ३ करोड निक्षेप संकलन गरी ४३ अर्ब ६३ करोड कर्जा लगानी गरेको छ । बैंकिङ्ग कारोबार सुरु गरेको डेढ दशकमा भएको यो प्रगतिलाई बैंकका अध्यक्ष थानेश्वर पौडेलले कर्मचारीको लगनशीलता र सेवाग्राहीको विश्वसनीयता नै प्रमुख आधार भएको बताउँछन् ।

यो बीचमा शाइनले आफ्नो कारोबार मात्रै बढाएको छैन क्षेत्र मिल्ने ५ अन्य बैंकसँग मर्जरसमेत गरिसकेको छ । स्थापनामा ३ जिल्लाबाट सेवा सुरु गरेको बैंकले वि.सं. २०६९ चैत ४ गते स्थापना भएको गुल्मीको रेसुङ्गा विकास बैंकसँग मर्जर गरेपछि शाइन रेसुङ्गा विकास बैंकको नामबाट १० जिल्लामा आफ्नो सेवा विस्तार गरेको हो ।

मर्जर अभियानलाई निरन्तरता दिँदै २०७३ जेठ २९ गते प्युठानको गौमुखी विकास बैंक, २०७६ असोज २७ मा नेपालगञ्जको भार्गव विकास बैंक र मंसिर १० मा भैरहवा केन्द्रित व्यवसाय गरिरहेको पूर्णिमा विकास बैंकलाई गाभेपछि राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल बताउँछन् ।

बैंकका लागि सफलताको जस पाएका छन् सुरुवातमै प्रमुख कार्यकारी अधिकृत संहालेका प्रकाश पौडेल र अध्यक्ष थानेश्वर पौडेलले । संयोग ५ वटा अन्य बैंकसँग मर्ज गरेर पनि अहिले नेतृत्वमा उनीहरु नै रहेका छन् ।

मेहनतसाथ काम गर्नसके मोफसलमा पनि बैंकिङ व्यवसाय गरेर सफल हुन सकिन्छ भन्ने उदाहरणको रुपमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रमाणित गरेर देखाउन सकेको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल बताउँछन् ।

‘चुनौती नआएको होइन, पहिले पनि वित्तीय संस्थामा चुनौती आउँदा हामीले निकै मेहनतका साथ डिफेन्स गरेर पार लगाएका थियौं, अहिले पनि चुनौती नभएको होइन तर सबैको मेनतमा पार लगाउन सकिन्छ भन्ने आधार हामीसँग छ’ उनले भने–‘मोफसलमा रहेर पनि राम्रो पर्फमेन्स गरेर राष्ट्रियस्तरका बैंकलाई टक्कर दिइरहेको छ, हामीले कुन अवस्थाबाट सुरुवात गरेका थियौं, अहिलेको अवस्था कस्तो छ भन्ने कुरा हाम्रा आर्थिक सूचकहरुले बताएको छ ।’

अर्गानिक व्यापार गरिरहेको यस बैंकले पछिल्लो समय भने डिजिटल बैंकिङ्गलाई ग्रामीण क्षेत्रमा विस्तार गर्न खोजिरहेको छ । आफ्ना सम्पूर्ण व्यवसायलाई डिजिटलाइज गरेर ‘पेपरलेस बैंकिङ्ग’ सेवा प्रदान गर्ने लक्ष्य रहेको सिइयो पौडेल बताउँछन् ।

‘विश्वमा प्रविधिको धेरै विकास आइसकेको छ, अब गार्ड राखेर भित्र भएको रकम सुरक्षित छ भनेर बस्ने अवस्था छैन, विश्वको जुनसुकै कुनाबाट पनि प्रभावित हुनसक्ने चुनौती छ’ उनले भने–’बैंकले आन्तरिक र बाह्य सेवालाई डिजिटलाइजेशन गरिरहेको छ, आन्तरिक कामहरु पेपरलेस भइरहेका छन्, बैंकले कर्जादेखि अन्य सेवाहरु पेपरलेस बनाएको छ ।’

बैंकले यस वर्षदेखि क्रेडिट कार्ड पनि सुरु गरेको छ । ग्राहकलाई डिजिटल बैंकिङ्ग सँगै जोखिमका बारेमा पनि सचेतना कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।

बैंकले हाल लुम्बिनी, बागमति, गण्डकी, सुदूरपश्चिम, कर्णाली प्रदेशका ८८ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटिएम मेशिनबाट हाल ६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ । प्रदेश नम्बर १ र मधेश प्रदेश बाहेकका सबै प्रदेशमा बैंकको पहुँच पुगेको छ । गतवर्ष मात्रै बैंकले आधा दर्जन शाखा कार्यालय काठमाडौं उपत्यकामा सञ्चालनमा ल्याएको हो ।

ग्राहकलाई सन्तुष्ट बनाउने र अधिकतम् सेवालाई दिनसक्नेगरी सबै प्रकारका बैंकिङ्ग सेवा प्रदान गर्ने गरी काम गरिरहेको पौडेलको भनाइ छ ।
‘अझै सेवालाई सुधार गर्ने योजना छ, नयाँ प्रडक्ट लञ्च गरेर होस् या भएका प्रडक्टका बारेमा ग्राहकलाई राम्रोसँग बुझाएर होस्, ग्राहकलाई सन्तुष्टि दिन्छौं, बैंकको सेवाबाट ग्राहकहरु सन्तुष्ट हुनुहुन्छ, ग्राहकको संख्या, ग्राहकसँगको अन्तरक्र्रिया र विजनेशको भोलुमले नै ग्राहकको सन्तुष्टि देखाउन सकिन्छ,’ उनले भने ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको लाभांश इतिहास हेर्ने हो भने अहिलेसम्म डबल डबल डिजिटमा मात्रै प्रतिफल दिँदै आएको छ । तर, विगत वर्षहरुको तुलनामा भने बैंकको लाभांश दर घटेको देखिन्छ । यसैगरी सहुलियत ब्याजदरमा पनि ब्याज अनुदान दिइएको छ ।

कृषि तथा पशुपंक्षी कर्जामा ४९१ जना ऋणीलाई १ अर्ब ३३ करोड ४८ लाख, महिला उद्यमशील कर्जामा ४३४ जना ऋणीलाई ५२ करोड ३२ लाख, दलित समुदाय व्यवसाय विकास कर्जामा ७ जना ऋणीलाई ३१ लाख, अन्यमा ५ जना ऋणीलाई १७ लाख प्रदान गरिएको कार्यकारी अधिकृत पौडेलले जनाएका छन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि राम्रो काम गर्दै आएको छ । दुर्घटना न्युनीकरण, सरसफाई तथा वातावरण संरक्षण, नेपाल पत्रकार महासंघसँगको सहकार्यमा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार स्थापना, डिजिटल साक्षरता, शाइन डिजिटल स्कुल परियोजना, शाइन उद्यमशीलता कार्यक्रमलगायतका कार्यक्रमलाई सामाजिक उत्तरदायित्वमा बैंकले राखेको छ ।

बैंकका अनुसार वार्षिकोत्सवका अवसरमा सरकारी १५ वटा विद्यालयमा ई–कक्षा सञ्चालन गरिएको छ । पहाडी र तराइका १५ वटा सरकारी विद्यालयमा प्रोजेक्टर, प्रिन्टर र कम्प्युटर लगायतका सामग्री दिएर डिजिटल कक्षा बनाउने योजना अनुसार काम गरेको अध्यक्ष पौडेलले बताए ।

वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न ठाउँमा १४ हजार बिरुवाहरु रोपेको छ । अर्काे वर्ष १५ हजार विरुवा रोप्ने लक्ष्य रहेको उनले बताए । यस्तै, नयाँ उद्यमशीलता विकासका लागि यो वर्ष ३३ क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशीलता विकास कार्यक्रममा समेटिएको र आगामी दिनमा यसलाई निरन्तरता दिने जनाइएको छ । पर्यटन प्रवद्र्धनका लागि रुपन्देहीको शंकरनगर बनबिहारलाई प्रविधिमैत्री बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *