नेपाल आठौँपटक आईसीसी यू-१९ विश्वकपमा छनोट – Nepal Press

नेपाल आठौँपटक आईसीसी यू-१९ विश्वकपमा छनोट

काठमाडौं । नेपाल आठौँपटक आईसिसी यू-१९ विश्वकप क्रिकेटमा छनोट भएको छ । सन् २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकपको एशियाली छनोटको अन्तिम खेलमा वुधबार यूएईलाई ७ रनले पराजित गर्दै नेपालले ८ वर्षपछि र समग्रमा आठौँपटक यू-१९ विश्वकपमा स्थान बनाएको हो ।

नेपालले यसअघि सन् २०१६ मा अन्तिमपटक यू-१९ विश्वकप खेलेको थियो । बंगलादेशमा भएको त्यस संस्करणमा नेपालले न्युजिल्यान्ड र आयरल्यान्डजस्ता टोलीलाई हराएर सुपर क्वाटरफाइनल यात्रा तय गरेको थियो । सन् २०१८, २०२० र २०२२ मा आयोजित संस्करणमा भने नेपाल छनोट हुन सकेको थिएन ।

यसपटक महादेशीय छनोटको विजेतालाई सोझै विश्वकपमा छनोट हुने प्रावधान राखिएका कारण नेपाल एसियाली छनोटको विजेताका रुपमा विश्वकपमा स्थान बनाएको हो । नेपालले सन् २००० देखि २००८ सम्म लगातार पाँचपटक यू-१९ विश्वकप खेलेको थियो ।

पहिलोपटक एसीसी यू-१९ एलिट कपको उपविजेताका रुपमा विश्वकपमा स्थान बनाएको नेपाली टोली त्यसपछि लगातार चारपटक विजेता भएका कारण विश्वकप पुग्न सफल भएको थियो ।

सन् २०११ मा एसीसी यू-१९ मा उपविजेता बनेको नेपाली टोली विश्वस्तरको छनोटबाट विश्वकप पुगेको थियो । सन् २०१५ मा एसीसी यू-१९ मा उपविजेता बनेको नेपाली टोली विश्वस्तरको छनोटमा विजेता बन्दै विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर