यूएईमाथि रोमाञ्चक जितसँगै नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा, दिपेश कँडेलको सनसनी ह्याट्रिक (भिडिओ) – Nepal Press

यूएईमाथि रोमाञ्चक जितसँगै नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा, दिपेश कँडेलको सनसनी ह्याट्रिक (भिडिओ)

काठमाडौं । घरेलु टिम यूएईमाथि राेमाञ्चक जित निकाल्दै  नेपाल यू- १९ विश्वकपमा छनोट भएको छ । यूएईस्थित इडेन गार्डेन ओभल अज्मान मैदानमा हारको नजिक पुगेको नेपाललाई दिपेश कँडेलले ह्याट्रिक विकेट लिँदै जित दिलाएका हुन् ।

एसिया रिजन छनोटमा अपराजित रहेकाे नेपालले २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाएको छ । ८ वर्षपछि नेपालले उमेरसमूहकाे विश्वकपमा स्थान बनाएकाे हाे ।

जितका लागि नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको यूएई ४८.८ ओभरमा अलआउट भयो । जितका लागि यूएईलाइ १५ बलमा ९ रन मात्र चाहिएकाे अवस्थामा दिपेशले ४७औं ओभरमा लगातार तीन विकेट लिएका थिए ।

यूएईका इथान डी सोल्झाले ६६ बलमा ५ चौकासहित सर्वाधिक ५० रन योगदान गरे । ओपनर अर्यान्स शर्मा ३२ रनमा आउट भए । अर्का ओपनर आर्यान सक्सेना ३४ रनमा आउट हुँदा धु्रव पराश १७ रनमा पभेलियन फर्किएका थिए ।

नेपालको बलिङमा दिपेश कँडेलले १० ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । हेमन्त धामी र सुबास भण्डारीले दुई–दुई विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ थालेको नेपाल ७ बल बाँकी रहँदा अलआउट हुँदै १ सय ९१ रनको योगफल तयार पारेको छ । ओपनर दिपक बोहरा डकआउट हुँदा अर्जुन कुमाल तीन रन बनाएर पभेलियन फर्किएका थिए ।

तेस्रो नम्बरमा क्रिजमा आएका आकाश त्रिपाठी ९ रनमा पभेलियन फर्कँदा कप्तान देव खनालले उत्तम रङगु थापा मगरसँग अर्धसतकीय साझेदारि गर्दै नेपालको इनिङ उकासेका थिए ।

देव ८४ बल खेल्दै ३ चौका र एक छक्का प्रहार गरेर आउट भए । भने, उत्तम ४८ बलमा तीन चौका र एक छक्कासहित ३६ रन बनाएर पभेलियन फकिए ।

बिशाल विक्रम केसी ३८ रनमा एलबी डब्लू आउट हुँदा मिलन बोहरा १० र दिपेश कँडेल १५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यूएईका ध्रुव प्राशरले ६.५ ओभरमा १ मेडनसहित १८ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । हरित हरिश शेट्टी र आर्यान अफ्जल खानले समान दुई विकेट लिँदा हर्सित सेट र अमर बदामीले एक–एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर