एमालेलाई देशीविदेशी शक्तिको घेराबन्दीमा पारियो: राजन भट्टराई (भिडिओ) – Nepal Press

एमालेलाई देशीविदेशी शक्तिको घेराबन्दीमा पारियो: राजन भट्टराई (भिडिओ)

रूपन्देही । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले देशीविदेशी शक्तिको घेराबन्दीमा पार्टीलाई पारिएकाले सबै नेता-कार्यकर्ता सचेत हुन जरुरी रहेको बताएका छन् ।

बुधबार बुटवलमा आयोजित मिसन ग्रासरूट अभियानमा उनले भने, ‘एमालेमाथि चारैतर्फबाट घेराबन्दी भएको छ, देशी-विदेशी शक्तिहरु मिलेर पार्टीलाई घेराबन्दीमा पारे पनि सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले नै एमालेलाई परास्त पार्न सकिँदैन भन्ने कुरा स्पष्ट पारेको छ ।’

उनले विपक्षीहरुले जतिसुकै कमजोर बनाउन खोजे पनि थप सशक्त भएर जनतामा जाने बलियो शक्ति एमाले कार्यकर्तामा रहेको औंल्याए ।

नेता भट्टराईले राष्ट्रिय हितका लागि एमाले जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताए ।

जनजीविकाका मुद्दाहरुलाई उठाउने र राष्ट्रिय स्वाधीनताका लागि जस्तोसुकै घेराबन्दी भए पनि एमाले प्रतिवाद गर्न तयार रहेको उनको भनाइ छ ।

मिसन ग्रासरुटको माध्यमबाट आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी अभियानमा लाग्न भट्टराईले आग्रह गरे ।

एमाले पोलिटव्युरो सदस्य बैजनाथ चौधरीले आगामी निर्वाचनमा एमाले झन ठूलो र पहिलो दल बन्ने गरी लाग्न नेता-कार्यकर्ताहरुलाई निर्देशन दिए ।

एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीले एमाले निकट जनसंगठनहरुलाई थप व्यवस्थित र संगठित गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर