हिमालयन ट्राभल मार्टको चौथो संस्करण जुन ६ देखि ९ सम्म काठमाडौंमा हुने – Nepal Press

हिमालयन ट्राभल मार्टको चौथो संस्करण जुन ६ देखि ९ सम्म काठमाडौंमा हुने

काठमाडौं । पर्यटन उत्सव हिमालयन ट्राभल मार्ट अगामी जुन ६ देखी ९ गते (जेठ २३ देखी २६) सम्म हुने भएको छ । सन २०१७ देखी हरेक वर्ष हुँदै आइरहेको मार्ट २०२० पछि कोभिड महामारीले हुन पाएको थिएन ।

प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरद्धारा नेपाल सरकार (संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) को स्वामित्व अन्तर्गत नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम, पाटा अन्तराष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको विशेष सहयोग तथा सहकार्यमा आयोजना गरिने हिमालय ट्राभल मार्टको चौथौ संस्करण यहि जुन ६ देखी ९ सम्म काठमाण्डौमा आयोजना हुने भएको हो ।

आयोजक पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले हिमालयन ट्राभल मार्ट २०२३ मा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई मार्टमा सहभागी भई पर्यटन व्यवसाय लाई पुनरुत्थान गर्न र नेपाललाई महामारी पछिको पर्यटन पुनरुत्थान अभियानमा सहयोग गर्न हार्दिक निमन्त्रणा दिएका छन् ।

उनले भनेका छन् ‘कोभिडले बिस्वब्यापीरुपमा यात्रा र पर्यटन उद्योगमा नराम्रो असर पारेको छ । नेपाल पनि यसमा अपवाद रहेन । यद्यपि, पर्यटन क्षेत्र क्रमशः लयमै फर्किरहँदा हिमालयन ट्राभल मार्टको आयोजनाले नेपाल लगायत समग्र हिमालयन क्षेत्रकै पर्यटन पुनरुत्थान र प्रवर्धन पहलहरूलाई सहयोग पुर्याउने तथा महत्त्वपूर्ण अवसर प्रदान गर्ने बिस्वाश लिएका छौ ।’

मार्टको लागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुधन किराँतीले विश्वभरबाट आउने अतिथिहरुलाई निमन्त्रणाका गरेका छन् ।

मन्त्री किराँतीले निमन्त्रणमा भनेका छन्, ‘हामी निकट बिगतका महामारी र अन्य विभिन्न समस्याहरुबाट क्षतविक्षत भएको पर्यटन क्षेत्रको पुननिर्माणको संघारमा रहेका छौँ । हामी हाम्रा जोखिमसँग जुधेका प्रेरणादायी कथाहरु र सुरक्षित पर्यटन गतव्य भएको कुरा बोकेर हाम्रा पाहुनाहरुको विश्वास र मन जित्दै नेपाललाई सर्वोत्कृष्ट एवं सुरक्षित गन्तव्यको रुपमा स्थापित गर्ने दृढताका साथ हामी अब पर्यटनको भविष्यको पुनर्निर्माण गर्न दत्तचित्त भएर लागिपरेका छौँ ।’

नेपाललाई हिमाली गन्तव्यको रुपमा विश्व बजारमा स्थापित गर्ने उदेस्यले भएको मार्टमा नेपालका अतिरिक्त, भारत, पाकिस्थान, चीन (तिब्बत), भुटान र म्यानमार जस्ता हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा युरोप, अमेरिका, अष्टे«लिया, न्यूजिल्याड, एसिया, सि.आई.एस. राष्ट्रहरु, एशिया र अरब राष्ट्रका विश्वब्यापी क्रेताहरुलाई एउटा मञ्चमा आउने गर्छन् ।

मार्टको मन्चले उनीहरुबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तार, ज्ञान तथा सिप आदान–प्रदान गर्ने तथा एउटा विशेष लोकप्रिय बी–टु–बी कार्यक्रम तय गर्नेगर्छ ।

सन २०१७ बाट हिमालयन ट्राभल मार्ट गर्दै आएकोमा त्यसको बजेटलाई एडभेन्चर मार्टको नाममा रकमान्तर हुन लागेको पर्यटन बोर्ड सुत्रले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *