मुरारका ग्रुपले सोमानी सेरामिक्ससँग सहकार्य गरेर टायल उत्पादन गर्ने
काठमाडौं । नेपालको व्यावसायिक समूह मुरारका ग्रुपले भारतको सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ ।
मुरारका ग्रुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिब ३ मिलियन स्क्वाएर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो ।
काठमाडौंको म्यारियट होटलमा कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त सहकार्यको बारेमा जानकारी दिइएको हो ।
यस बारेमा बोल्दै मुरारका ग्रुपका म्यानेजिङ डिरेक्टर पशुपति मुरारकाले भने, ‘मुरारका ग्रुप आफ्ना ग्राहकहरूलाई सदैव गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ । यस सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपूर्ति गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ । साथसाथै नेपाली बजारमै रोजगारीको सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’
सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवम् सिइओ अभिषेक सोमानीले भने, ‘नेपालको प्रतिष्ठित व्यावसायिक घराना मुरारका ग्रुपसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ र यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउने कुरामा हामी विश्वस्त छौँ ।’