प्रदेश १ मा मिसन ग्रासरुट तीव्ररुपमा अघि बढाउँदै एमाले – Nepal Press

प्रदेश १ मा मिसन ग्रासरुट तीव्ररुपमा अघि बढाउँदै एमाले

विराटनगर । नेकपा एमालेले मिसन ग्रासरुट अभियानलाई प्रदेश १ मा तीव्ररुपमा अघि बढाएको छ । प्रदेश १ का १४ वटा जिल्लामध्ये ११ जिल्लामा जिल्ला कमिटीको बैठक बसेर कार्ययोजना बनेको छ । मंगलबार र वुधबारसम्ममा १४ वटै जिल्लामा बैठक बसेर कार्ययोजना बन्ने नेकपा एमाले प्रदेश १ का इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिए ।

प्रदेश १ का १३७ पालिकालाई ५२ वटा केन्द्र बनाएर अभियान सुरु गरिएको छ । हरेक केन्द्रको नेतृत्व केन्द्रीय सदस्यले गरेको प्रदेशका सचिव चिन्तन पाठकले जानकारी दिए । उनका अनुसार पालिकामा प्रदेश कमिटीबाट छुट्टै र जिल्ला कमिटीबाट पनि छुट्टै पार्टी नेताहरुको जिम्मेवारी तोकेर पठाइएको छ ।

प्रदेश कमिटी सदस्यलाई भने आफ्नो पालिकाबाहेक अर्को पालिकामा खटाइएको छ । प्रदेश कमिटीका अध्यक्ष तुलसी न्यौपानेले केन्द्र, प्रदेश र जिल्लाका टोलीहरु पालिकामा गइसकेको जानकारी दिए । कतिपय जिल्लाका पालिकामा जाने तयारी भइरहेको उनले बताए ।

पालिकाहरुमा बैठक, पार्टी प्रवेश र रचनात्मक कामहरुको सुरुवात भइसकेको बताउँदै उनले प्रदेश १ मा पार्टीलाई मजबुत बनाउने गरी अभियान चलाइएको बताए । फाल्गुन ५ गतेबाट प्रदेशमा सुरु भएको मिसन ग्रासरुट वैशाख ९ गतेसम्म व्यापकरुपमा अघि बढ्ने छ ।

मिसन ग्रासरुटमा मोरङमा खटिएका सबै नेता आए

मोरङका १७ वटा पालिकामा नै मिसन ग्रासरुटको कार्यक्रम पुगिसकेको छ । एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले केन्द्रले खटाएको सबै नेताहरु जिल्लामा आइपुग्नुभएको बताएका बताए ।

मोरङलाई ८ वटा केन्द्र बनाएर मिसन ग्रासरुट अभियान सुरु गरिएको छ । चार दिनअघि जिल्ला अभिमुखीकरण गरी अभियान गाउँ पसेको पोखरेलले बताए । उनका अनुसार मंगलबारसम्ममा सबै पालिका कमिटीको बैठक सम्पन्न हुनेछन् । प्रदेश १ को सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको मोरङमा अरु जिल्लाको तुलनामा रफ्तारमा अभियान गएको पोखरेलले बताए ।

यसैबीच मोरङको बुढीगंगामा एमालेका नेता विशाल भट्टराईको प्रमुख आतिथ्यतामा सोमबार मिसन ग्रासरुट कार्यक्रम गरिएको छ । एमाले बुढीगंगाका अनुसार अभियानमा मिसन ग्रासरुटको औचित्य र वर्तमान राजनीतिक अवस्थाबारे नेता भट्टराईले प्रष्ट पारेका थिए ।

सुनसरीमा मिसन ग्रासरुटको कार्ययोजना पास

नेकपा एमाले सुनसरीले आगामी वैशाख ९ गतेसम्मका लागि मिसन ग्रासरुट कार्यक्रमको कार्ययोजना पास गरेको छ । सोमबार पार्टी कार्यालय इनरुवामा बसेको बैठकले कार्ययोजना पास गरेको जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिए ।

मिसन ग्रासरुटमा खटिएका केन्द्रीय कमिटीका नेताहरु समेतको उपस्थितिमा भएको बैठकमा सुनसरी जिल्लाको अवस्था र पार्टीका विविध पक्षलाई छलफल गर्दै कार्ययोजना पास गरिएको भण्डारीले जानकारी दिए ।

आजको बैठकमा नेकपा एमालेका प्रदेश इन्चार्ज राजेन्द्र गौतम, केन्द्रीय सदस्य मञ्जु चौधरी, प्रदेश अध्यक्ष तुलसी न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर