सरकारी तथ्याङ्क एकीकृत ‘डाटा सेन्टर’मा आउँदैछ: मन्त्री शर्मा – Nepal Press

सरकारी तथ्याङ्क एकीकृत ‘डाटा सेन्टर’मा आउँदैछ: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताएकी छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारस्थित मन्त्रालयमा आज उनीसँग गरेको भेटमा सरकारका प्रवक्ता शर्माले भनिन्, ‘फरकफरक डाटा सेन्टर हुँदा सरकारी तथ्याङ्क असुरक्षित देखिएकाले सरकारले आफ्नै सफ्टवेयरबाट एकीकृत गर्ने तयारी गरेको छ ।’

मन्त्री शर्माले सडकका पोलमा अव्यवस्थित रुपमा रहेका तारलाई व्यवस्थित गर्न मन्त्रालयले दूरसञ्चार ऐन नै परिमार्जन गरी एउटै तारबाट सेवा प्रवाह गर्न सक्ने व्यवस्था मिलाउने तयारी गरिरहेको जानकारी दिइन् ।

‘एउटै तारबाट सेवा प्रवाह गर्नेगरी कानूनी प्रावधान ल्याइँदैछ’, उनले भनिन्, ‘भूकम्प, बाढी पहिरोजस्ता सङ्कटकालीन अवस्थामा पनि तत्काल सेवा सञ्चालन गर्नेगरी उद्धार टोली बनाउन कानूनमै व्यवस्था गर्न लागिएको छ ।’

भेटका क्रममा मेयर शाहले नेपालमा सञ्चालित सामाजिक सञ्जालहरू (फेसबुक, ट्वीटर, युट्युब र टिकटकलगायत) नेपालमा पनि दर्ता हुनुपर्ने व्यवस्था गर्न मन्त्रीसमक्ष अनुरोध गरेका थिए । मन्त्री शर्माले डिजिटल साक्षरता अभियान सञ्चालन गर्न स्थानीय तहसँग आग्रहसमेत गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर