सन्दीप उर्बर खेलाडी हुन्, नेपालका लागि क्रिकेट खेल्न पाउनुपर्छ : क्यान अध्यक्ष (भिडिओ) – Nepal Press

सन्दीप उर्बर खेलाडी हुन्, नेपालका लागि क्रिकेट खेल्न पाउनुपर्छ : क्यान अध्यक्ष (भिडिओ)

सुर्खेत । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा सुर्खेतमा सुरू भएको छ । दुई दिनसम्म चल्ने साधारणसभामा ४५ जिल्लाका प्रतिनिधि, प्रदेश प्रतिनिधि २१ जना, १७ जना केन्द्रीय सदस्य, तीनजना पर्यवेक्षक, निर्णायक र कोच एक/एक जना गरी करिब ८७ जना सहभागी हुने छन् ।

यस साधारणसभामा क्रिकेटको विकासका लागि गर्नुपर्ने सवालहरू, यो वर्षको प्रस्तावित बजेट, कार्ययोजना र यो वर्षभरी भएका उपलब्धिबारे छलफल हुने बताइएको छ ।

साधारणसभाको उद्घाटन समारोहमा बोल्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले कर्णाली प्रदेशको राजधानीमा क्रिकेट मैदान नहुँदा दु:ख व्यक्त गरेका छन् । उनले क्रिकेट पूर्वाधारको निर्माणका लागि मुख्यमन्त्री राजकुमार शर्माको ध्यानाकर्षण गराए

‘हामी ग्रामीणस्तरसम्म क्रिकेट खेलाडी उत्पादन गर्ने अभियानमा छौं,’ उनले भने, ‘तर सरकारले प्रदेश राजधानीमा एउटा पनि खेल मैदान निर्माण नगर्दा विकास र खेलाडी उत्पादन गर्न असम्भव छ ।’

फरक प्रसंगमा अध्यक्ष चन्दले राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले मुलुकका लागि क्रिकेट खेल्न पाउनुपर्ने बताए ।

उनले भने, ‘सन्दीप क्रिकेटको उर्बर खेलाडी हुन् । उनीजस्तो खेलाडीले क्रिकेट खेल्न पाउनुपर्छ भन्ने क्यानको मान्यता हो । तर, उनको मुद्दा अदालती प्रक्रियामा छ । अदालतले गरेको फैसला हामीले स्वीकार गर्नुपर्छ ।’

कार्यक्रममा कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले कर्णालीको खेल क्षेत्रको विकासका लागि सरकार जिम्मेबार बन्न नसकेको बताए ।

उनले भने, ‘कर्णाली प्रदेशमा अघिल्लो सरकारले प्रदेश गौरवको आयोजनाका रूपमा प्रदेश रंगशाला अगाडि बढायो । अहिलेको सरकारका वनमन्त्रीज्यूले उक्त रंगशालाको काम राक्ने नियतका साथ जरिबाना तिराउने निर्णय गर्नुभयो ।’

क्यानका केन्द्रीय सदस्य पदमबहादुर खड्काले कर्णालीमा क्रिकेट मैदानकै अभवमा यहाँका खेलाडी बाहिर जानुपर्ने समस्या रहेको बताए ।

उनले भने, ‘यहाँका क्रिकेट खेलाडीहरू खेल खुल्नकै लागि प्रदेश बाहिर जानुपर्ने अवस्था छ । सरकारले प्रदेश राजधानी सुर्खेतमा एउटा क्रिकेट दैनान निर्माणका लागि पहल लियोस । कर्णालीमा हुने आगामी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि क्रिकेट मैदान निर्माण गर्नु आवश्यक छ ।’

कार्यक्रममा उद्योग वाणिज्य संघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेललगायतले क्रिकेटको पूर्वाधार विकासमा जोड दिए ।

मुख्यमन्त्री राजकुमार शकर्माले कर्णालीमा क्रिकेटलगायतका खेल पुर्वाधार निर्माणका लागि सरकार लाग्ने आश्वस्त पारे ।

उनले भने, ‘मुलुकमा राजनीतिक परिवर्तनहरू भए । व्यवस्थाहरू परिवर्तन भए । तर खेल क्षेत्र मात्र नभई समग्र जनताको अवस्था परिवर्तन हुन सकेको अवस्था छैन । सरकार यसप्रति गम्भीर छ । अब सबैको अवस्था परिवर्तन गर्ने गरी सरकारले काम गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर