गौचन स्मृति क्रिकेट प्रतियोगिताको उपाधि धनगढीलाई – Nepal Press

गौचन स्मृति क्रिकेट प्रतियोगिताको उपाधि धनगढीलाई

रुपन्देही । पाँचौं खड्गप्रसाद गौचन स्मृति अन्डर- १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि धनगढी क्रिकेट एकेडेमीले जितेको छ । पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी रुपन्देहीको आयोजनामा सञ्चालित प्रतियोगिताको बिहीबार सम्पन्न फाइनलमा धनगढीले सीईसी काठमाडौंमाथि २ विकेटले जीत निकाल्दै उपाधि हात पारेको हो ।

विजेताले उपाधिसँगै नगद ३० हजार पाएको छ । उपविजेतामा चित्त बुझाएको सीईसीले १५ हजार रुपैयाँ र ट्रफी पायो ।

प्रतियोगितामा धनगढीका सौर्य श्रेष्ठ म्यान अफ द सिरिज बन्दै नगद ५ हजारबाट पुरस्कृत भए । श्रेष्ठ उत्कृष्ट बलरसमेत घोषित भए । धनगढीका निशान्त रेग्मी उत्कृष्ट ब्याट्सम्यान भई ३ हजार नगद प्राप्त गरे । न्यु होराइजनका सुमन खनाल इमर्जिङ प्लेयर भई ३ हजार रुपैयाँबाट पुरस्कृत भए ।

सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनलमा टस जितेर धनगढीले सीईसीलाई ब्याटिङको निम्तो दिएको थियो । सीईसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर १४९ रनको लक्ष्य खडा गरेको थियो । सीईसीका लागि स्मिथ बुढाले ७७ बलमा ४६, उमकार यादवले ४२ बलमा २५ तथा सिद्धार्थ साउदले ३३ बलमा २० रनको योगदान दिए ।

धनगढीका निशान्त रेग्मीले ६ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए । यसैगरी सचिन साउद र निरज ऐरले समान २-२ विकेट लिए ।

मध्यम स्कोर पछ्याएको धनगढीले ३१ ओभरमा ८ विकेटको नोक्सानीमा जीत हासिल गर्‍यो । धनगढीका निरज ऐरले ३५ बलमा नटआउट ३९ तथा रवीन्द्र कुँवरले ४९ बलमा ३० रनको योगदान दिए ।

सीईसीका करण घर्तीमगर, ओमकार यादव र सौर्य श्रेष्ठले समान २-२ विकेट लिए । खेलमा म्यान अफ दि म्याच निरज ऐर भई एक हजार रुपैयाँबाट पुरस्कृत भए ।

विजेता र उपविजेता तथा खेलाडीलाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जितकुमार यादव, क्रिकेटर शक्ति गौचन र उनकी आमा रामकुमारी गौचनलगायतले पुरस्कार र ट्रफी प्रदान गरेका थिए । क्रिकेटर गौचनले आफ्ना बुवाको स्मृतिमा विगत पाँच वर्षदेखि राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर