राष्ट्र बैंकको नयाँ नियमसँगै लघुवित्तका लगानीकर्ताले अर्बौं गुमाए, ३७ कम्पनीमा नकारात्मक सर्किट – Nepal Press

राष्ट्र बैंकको नयाँ नियमसँगै लघुवित्तका लगानीकर्ताले अर्बौं गुमाए, ३७ कम्पनीमा नकारात्मक सर्किट

काठमाडौ । लघुवित्तलाई कस्ने गरी राष्ट्र बैंकद्वारा जारी निर्देशिकाको सीधा असर लघुवित्तको सेयरमा परेको छ । बिहीबार लघुवित्तको सेयर पेनिक अवस्थामा देखिएको हो ।

आज लघुवित्त समूह ४१२.०२ अंकले घटेको छ । आज सबैभन्दा बढी गिरावट नै यही समूहतर्फ छ । ३७ वटा लघुवित्तमा नकारात्मक सर्किट लागेको छ ।

छिमेकी लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तिय संस्था, समिट लघुवित्त वित्तिय संस्था, स्वरोजगार लघुवित्त विकास बैंक, नयाँ सारथि लघुवित्त वित्तिय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तिय संस्था, मिर्मिरे लघुवित्त वित्तिय संस्था, जिवय लघुवित्ति संस्था लगायत ३७ लघुवित्तमा नकारात्मक सर्किट लागेको हो । यिनीहरूको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

लघुवित्त समुहमा भारी गिरावट आउँदा समग्र सेयर बजार नै प्रभावित बनेको हो । लघुवित्तप्रति नकारात्मक टिप्पणी चल्नु र राष्ट्र बैंकले सोही अनुसारको नीति लिनुले लघुवित्तका लगानीकर्ताहरू सेयर बिक्रीतर्फ बढी ध्यान दिएको देखिन्छ ।

आज सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छ । यसको ८ करोड ७० लाखभन्दा बढी कारोबार भएको छ । लघुवित्त कम्पनीहरूमा नकारात्मक सर्किट लागेर गिरावट आएको सेयर बजारको सूचक ५७.७४ अंकले घटेर २०२२.६४ बिन्दुमा आएको छ ।

बुधबार राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने, एक लघुवित्तबाट ऋण लिएकाले अर्को लघुवित्तबाट ऋण लिन नपाउने र ऋणको सीमा सात लाखभन्दा बढी नहुने व्यवस्था गरेको थियो । यद्यपि, चर्को व्याज र ऋणीलाई मानसिक यातना दिएको भन्दै यसअघिदेखि नै लघुवित्त खारेजीको लागि दबाबमूलक कार्यक्रम गरिँदै आएको थियो ।

अर्को तर्फ केही दिन अघि मात्र राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले सार्वजनिक कार्यक्रममै लघुवित्तलाई सेयरका खेलाडीले बिगारेको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपछि लगानीकर्ताहरूले सामाजिक सञ्जालमा विरोध गरिरहेका थिए ।

लगानीकर्ताको अर्बौं ‘ध्वस्त’

बिहिबारको बजारले लगानीकर्ताहरू हतोत्साहित भएको देखिएको छ । लघुवित्तको चौतर्फी विरोध हुँदा लगानीकर्ता आतंकित भएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । अर्कोतर्फ अर्बौं लगानी गरेका लगानीतकर्ताको लगानी डुबाउने गरी राष्ट्र बैंकले बोनसमा लगाम लगाएको रौनियारको भनाइ छ ।

उनी भन्छन, ‘राष्ट्र बैंकले लगानीकर्ता आतंकित बनाएको छ । बोनस यति दिनु उति दिनु भन्नु उसको अधिकारभन्दा बाहिरको कुरा हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *