हिरोले एनजीएमसँग खोस्यो आधिकारिक बिक्रेता, संकटमा ६० करोडको एसेम्ब्लिङ कारखाना – Nepal Press

हिरोले एनजीएमसँग खोस्यो आधिकारिक बिक्रेता, संकटमा ६० करोडको एसेम्ब्लिङ कारखाना

काठमाडौं । हिरो मोटोकर्पले नेपाल जनरल मार्केटिङ (एनजीएम) सँगकाे नेपालको लागि आधिकारिक बिक्रेता खारेज गरेको छ । एनजीएमलाई गत फेब्रुअरी १० मा पत्र पठाउँदै हिरोले नेपालको लागि आधिकारिक बिक्रेता खारेज भएकाे जनाएको हो ।

आधिकारिक बिक्रेता खारेज गरिएसँगै एनजीएमको एसेम्बलिङ प्लान्ट सञ्चालनमा धक्का पुगेको छ । एनएमजीले हिरो मोटोकर्पसँगको सम्झौताअनुसार फेब्रुअरी पहिलो साताबाट एसेम्ब्लिङको काम सुरु गरेको थियो । त्यस्तै हिरोले आधिकारिक बिक्रेताको लागि गत अगस्टमा एनजीएमसँग थप पाँच वर्षे सम्झौता गरेको थियो ।

एक्कासि फेब्रुअरी १० मा हिरोले आधिकारिक बिक्रेता खारेज भएको पत्र पठायो । पत्रमा हिरोले थप व्यवसायिक सम्बन्ध अघि बढाउन नसक्ने उल्लेख गरेको थियो । यससँगै हिरो र ज्योति समूहअन्तर्गतको एनजीएमको करिब ३५ वर्षे व्यवसायिक सम्बन्ध टुंगिएको छ ।

हिरोले व्यवसाय विस्तार गर्न नसकेको आरोप लगाएर एनजीएमको आधिकारिक बिक्रेता खोसेको बताइन्छ । एनजीएम स्रोत भन्छ, ‘कोरोनापछिको दुई वर्ष हामीले ७० हजार मोटरसाइकल बेच्यौं । यसको उनीहरुले नै प्रशंसा गरेका थिए । अहिले व्यवसाय विस्तार गर्न सकेन भनेर बिक्रेता खोस्नु तर्कसँगत छैन ।’

गत अगस्टमा हिरोसँग ५ वर्षे सम्झौता भएपछि एनजीएमले मोटरसाइकल एसेम्ब्लिङ गर्न घरजग्गा र थप कर्मचारी व्यवस्थापन गरेको थियो । यसमा करिब ६० करोड लगानी भइसकेको कम्पनीले बतायो ।

स्रोतका अनुसार एनजीएमले धेरै नाफा कमाएको भन्दै हिरोले मूल्य बढाउन खोजेको थियो । तर, एनजीएमले अस्वीकार गरेपछि आधिकारिक बिक्रेता खोसेको स्रोतले बतायो ।

एनजीएम स्रोत भन्छ, ‘हामीलाई सरकारले सहुलियत दिएको छ । त्यसकारण धेरै फाइदा हुन्छ भनेर हिरोले मूल्य बढाउन खोज्यो । तर, हामीले यो सम्झौताविपरीत हुन्छ भन्यौं । उसले प्रिन्सिपल हाम्रो हातमा छ, हामी टर्मिनेट गर्छौं भन्यो ।’

यस विषयमा अदालतबाट स्टे अर्डर पाएकाले एनजीएमले सहमतिविपरीत हुन नदिने अडान लिएको छ । तर, हिरो अर्कै आधिकारिक बिक्रेताको खोजीमा रहेको स्रोत बताउँछ ।

हिरोले एनजीएमलाई सिकेडी (कम्प्लिट्ली नकडाउन)को थप आपूर्ति बन्द गरेको छ । ज्योति समूहका अध्यक्ष डा. रुपज्योतिले भने आफूहरुले हिरोको आधिकारिक बिक्रेता नछोड्ने बताए ।

हिरो र होण्डा छुट्टिएपछि एनजीएमले पाएको थियो आधिकारिक बिक्रेता

सन् १९८६ देखि ज्योति समूहको स्याकार कम्पनीले आधिकारिक वितरक भई नेपालमा हिरोहोण्डा ब्राण्डका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको थियो । तर, सन् २०१० मा हिरो र होण्डा छुट्टिएपछि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम) बनेको थियो ।

एनजीएमले नेपालमा वार्षिक औसत ३५ हजार हिरो मोटरसाइकल बिक्री हुँदै आएको जनाएको छ । उसले कम्पनीले ब्राण्डिङमा समेत ध्यान दिएको र बिक्री वितरण पनि राम्रै भएको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *