‘मिटर ब्याजमा फसेर लघुवित्तमा पुगियो, लघुवित्तकै कारण आत्महत्या भयो ’ – Nepal Press

‘मिटर ब्याजमा फसेर लघुवित्तमा पुगियो, लघुवित्तकै कारण आत्महत्या भयो ’

काठमाडौँ । ‘सानो व्यवसाय चलाएर बसेको थिए । पैसाको अभाव भएपछि नम्रता लामा र चिना कोइरालाले ऋण दिए । उनीहरूले दिएको १ लाख ऋण तिर्दा पनि २ लाख भयो भन्दिने । सुरुमा १ लाख लिएको थिए । तिरेको रकम ब्याज मात्र हो । ऋण बाँकी छ भन्नु भयो । मिटर ब्याजीलाई पटक पटक गरेर लघुवित्तबाट ४ लाख ५० हजार तिरे । मिटर ब्याजमा फसेर लघुवित्तमा पुगे । चेकमार्फत ब्ल्याकमेल गर्नुभयो । मैले ४ लाख ५० हजारको चेक काटेर दिन खोज्दा साइन मात्र गरिदिनु भन्नुभयो । चेक भर्ने काम मेरो भयो भनेपछि मैले पनि विश्वास गरेर दिए । उहाँले कृषि विकास बैंकको चेकमा १५ लाख भर्नु भएछ । अनि उहाँले मैले तपाईँलाई १५ लाख दिएको जसरी पनि दिनु भन्नुभयो नत्र बैंकमा गएर चेक बाउन्स गर्ने धम्की दिनुभयो । म सँग १ कट्ठा जमिन थियो । मेरो जग्गा मिटरब्याजीले पास गरेर दे भनेपछि म लघुवित्तमा पस्न बाध्य भए । यताबाट लिने र उता दिने गर्दा मेरो सर्वस्व लुटियो । १ लाखमा महिनाको १२ हजार तिर्दा जति तिरेपनि नसकिने । फरवार्ड माइक्रो फाइनान्स, मेरो माइक्रोफाइनान्स, मिथिला लघुवित्त, डिप्रोक्स लघुवित्त, साना किसानबाट लिएर ऋण तिरे अनि लघुवित्तहरूलाई पनि बिस्तारै तिर्दै गए । बारम्बार घरमा आउने टर्चर दिन थाले । लघुवित्तका कर्मचारीले घरमा आएर सधैँ टर्चर दिँदा ३ महिना अघि मेरो ११ वर्षको छोरीले आत्महत्या गरिन् । अहिले १० हजारको भाडा माझेर छोरा पढाएकी छु । मर्न त मलाइ पनि मन थियो । तर छोरा एउटा बाँकी छ ।

यो वास्तविक कहानी हो रौतहटकी दिलु कार्कीको ।

000

‘म मिटरव्याजीको ऋणमा छु । मेरो बुबा बिरामी हुँदा भूमिसुधारमा काम गर्ने राम नरेश मण्डलसँग २० हजार लिएको थिए । बम्बैमा २ वर्ष उपचार गराए । त्यसपछि ११ हजार रुपैयाँ तिरे । बाँकी रह्यो ९ हजार । ९ हजार बाँकी हुँदा १ लाख २० हजार रुपैयाँ छिमेकीहरूलाई राखेर दिएको । अझै उसलाई ४० हजार चाहियो । अनि आमाले गहना बोकेर ४० हजार दिनुभयो । २ दिन ढिला हुँदा ६० हजार माग्यो । अनि नेशनल माइक्रो फाइनान्ससँग ऋण लिएको हो । किस्ता तिरिराखेकै छु । तैपनि राती ९ बजे घरमै जान्छ आजै चाहिन्छ भनेर । ११ हजार दिएको १ हजार नपुग्दा ९ बजेराती घरमा आयो । सधैँ टर्चर दिन्छ ।’

यो अर्की लघुवित्त पीडित सिराहा जिल्ला देवीपुर वाड नं. १ की इशान कुमारी चौधरीको कहानी हो ।

000

‘लघुवित्तको कारणले गाउँमा बस्ने महिलाको सुरक्षा छैन । लघुवित्तका कर्मचारी ९ बजे रातीसम्म चुलोको पछाडि बस्छन् , थुक्छन् । रोडमा किचेर मर, फासी लाएर मर, विष दिन्छु खाएर मर मरेपछि मेरो ऋण सकिन्छ भन्छ । के हामी यो देशको नागरिक होइनौ । यो देशमा बस्ने अधिकार हामीलाई छैन ? लघुवित्त संस्थाले कर्मचारी राखेको हो की तानाशाही हो । कति गाउँ छोडेर भागिसकेको छ । हामीहरूको पनि इज्जत छ नि छ सर ? घरमा बस्न नदिने, छोराछोरीलाई इट्टा भट्टामा लगेर काम लाउने, आमा बुबाको बृद्धभत्ताको पासबुक लिएर उनीहरू खाने । ६० वर्षको आमालाई क्यालकुलेटर हान्यो ।’

लघुवित्त पीडितको तर्फबाट उठ्दै अर्की एक महिलाले भनेको शब्द हो यो ।

000

यी त प्रतिनिधि केही पात्रका कहानी मात्र हो । तर पछिल्लो समय लघुवित्तबाट ऋण लिएर मर्नु न बाँच्नु पारेको आरोप चौतर्फी लाग्ने गरेको छ । लघुवित्तको ज्यादती धेरै भयो भन्दै संघर्ष समिति समेत गठन भएर आन्दोलन भइरहेको छ ।

लघुवित्तमा गएर फसेका अधिकांश ऋणीको कहानी मिटरब्याजबाटै शुरु भएको देखिन्छ । मिटर ब्याजमा लिएको ऋण तिर्न नसकेर लघुवित्तसम्म आइपुगेको र लघुवित्तको ऋण तिर्न नसक्ने अवस्थामा पुगेपछि टर्चर दिएको उनीहरूको भनाइबाट स्पष्ट हुन्छ ।

सामान्यतया लघुवित्तबाट उद्यमी बन्नका लागि ऋण दिने भएपनि यहाँनेर लघुवित्तहरूले ऋण कुन प्रयोजनका लागि गएको छ भन्ने हेक्का नराख्दा धेरै जसो ऋण मिटर ब्याजीको ऋण तिर्न प्रवाह भएको देखिन्छ ।

लघुवित्तका कर्मचारीले ज्यादती गरेकै हुन् : विज्ञ

लघुवित्तका विज्ञ डा. भरसिंह थापाले लघुवित्तहरूले उद्देश्य अनुसार काम नगर्दा समस्या भएको बताए । लघुवित्तले विना धितो ऋण प्रवाह गर्न नपाउने अन्तर्राष्ट्रिय अभ्यास भएपनि नेपालमा बिना धितो ठुलो ठुलो ऋण प्रवाह गर्दा समस्या भएको उनको बुझाइ छ ।

उनी भन्छन्, ‘लघुवित्तले आर्थिक र सामाजिक सम्बन्धलाई सँगसँगै लैजानुपर्ने हो तर लघुवित्तका कर्मचारीले ज्यादती गरे । यसमा लघुवित्तले सुधार्नुपर्छ ।’

लघुवित्तले १ वर्षका लागि १ लाख सम्म ऋण दिन पाउने र पटक पटक गरी सात लाख रुपैयाँ सम्म ऋण दिन पाउने प्रावधान छ । तर ऋणीहरूको कुरा सुन्दा एकै पटक ५ लाखसम्म दिएको देखियो, उनले भने ।

यता सिवाइसि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत गुणेन्द्र शर्माले पछिल्लो समय लघुवित्त सञ्चालनमै समस्या भएको स्विकारे । यद्यपि सबै लघुवित्तमा समस्या नभएको उनको दाबी छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका सिइओ जनार्दनदेव पन्तले लघुवित्तहरू सिद्धान्त विपरीत चलेकोले समस्या भएको बताए । यद्यपि यसमा सुधार गर्दै जानुपर्नेमा सबै प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ ।

राष्ट्र बैंक भन्छ- धेरैसंस्थाबाट ऋण लिन नपाउने व्यवस्था गर्दै छौ

नियामयकी भूमिकामा रहेको नेपाल राष्ट्र बैंकले एकै व्यक्तिले ६/७ वटा लघुवित्तबाट ऋण लिँदा समस्या भएको बताएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशन रेवती नेपालले लघुवित्त, सहकारी र सुदखोरको मिश्रणका कारण समस्या भएको उल्लेख गरे ।

यस्तै ऋणीले ऋण नतिरे निक्षेप फिर्ता गर्न नसकिने भन्दै ऋणीलाई ऋण तिर्न सक्ने बनाउन पनि उनले लघुवित्तलाई निर्देशन दिएका छन् । आगामी केही दिनमै २ वटा लघुवित्त भन्दा बढीबाट ऋण लिन नपाउने व्यवस्था गरिने उनले बताए । केही सेयरका खेलाडीले पनि लघुवित्त विगारेको नेपालको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *