माओवादी पदाधिकारी बैठक आज : राष्ट्रपतिमा कसलाई सघाउनेबारे छलफल गर्ने – Nepal Press

माओवादी पदाधिकारी बैठक आज : राष्ट्रपतिमा कसलाई सघाउनेबारे छलफल गर्ने

काठमाडौं । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । अपरान्ह ४ बजे पार्टी मुख्यालयमा पदाधिकारी बैठक बस्न लागेको माओवादी स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले जानकारी दिए ।

आजको बैठक राष्ट्रपति निर्वाचनमा केन्द्रित हुने बताइएको छ । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाएको छ । सरकार गठनताका भने गठबन्धनमा एमालेलाई राष्ट्रपति दिने सहमतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका थिए । राष्ट्रपतिबारे प्रचण्डले भाका फेर्न थालेपछि एमाले सशंकित छ । यही विषयलाई लिएर गठबन्धनको भविष्यसमेत संकटमा परेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ‘दाउ’ थापेको कांग्रेसले पनि राष्ट्रिय सहमतिमा जोड दिँदै राष्ट्रपतिमा तीब्र चासो देखाइरहेको छ । कांग्रेस नेतृत्वमा चुनावी गठबन्धन बनेकाले त्यही गठबन्धनको बलमा माओवादीले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई समर्थन गर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।

हिजोमात्र राष्ट्रपतिमा सहयोग माग्दै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौलालगायतका कांग्रेसका शीर्ष नेता बालुवाटार पुगेका थिए ।

कांग्रेस नेताहरूको आग्रहमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएको स्रोतले बतायो । प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका छन् । फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि यही १३ गते मनोनयन दर्ता हुँदैछ ।

यही मेसोमा बोलाइएको माओवादी पदाधिकारी बैठकलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर