कांग्रेस सभापति देउवाले दिए प्रजातन्त्र दिवसको शुभकामना – Nepal Press

कांग्रेस सभापति देउवाले दिए प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको जनक्रान्तिले राजनीतिक परिवर्तन मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत हरेक क्षेत्रमा अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको उल्लेख गरेका छन् ।

प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दै देउवाले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै २०४६ सालको परिवर्तन र २०६२/६३ सालको आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति भएको स्मरण गरेका छन् ।

‘राजनीतिक परिवर्तनमात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्‍यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्‍यो’, देउवाको शुभकामना सन्देशमा उल्लेख छ ।

नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने देउवाले विश्वास जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर