आसिफ र ज्ञानेन्द्रले गरे १३९ रनको कीर्तिमानी साझेदारी, नेपाल बलियो स्थितिमा – Nepal Press

आसिफ र ज्ञानेन्द्रले गरे १३९ रनको कीर्तिमानी साझेदारी, नेपाल बलियो स्थितिमा

काठमाडौं । नामिबियाविरुद्धको म्याचमा नेपालका दुई ब्याट्सम्यानले कीर्तिमानी साझेदारी गरेका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटका लागि नेपालले गरेको सर्वाधिक साझेदारीको रेकर्ड उनीहरूले राखेका हुन् ।

नेपालले ९ रनमै पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएपछि आसिफ र ज्ञानेन्द्रले नेपालको इनिङ सम्हाले । उनीहरुबीच १३९ रनको साझेदारी भएको छ, जुन अहिलेसम्मको सर्वाधिक हो ।

यही प्रतियोगिता अन्तरगत पहिलो म्याचमा नेपालका कुशल भुर्तेल र रोहित पौडेलबीच तेस्रो विकेटका लागि १३३ रनको साझेदारी भएको थियो । आसिफ र ज्ञानेन्द्रले त्यसलाई तोडेका हुन् ।

ज्ञानेन्द्र ७४ बलमा ६५ रन बनाएर आउट भएका छन् । ३ छक्का र पाँच चौका प्रहार गरेका उनी अर्को छक्का थप्ने धुनमा क्याचआउट भएका थिए ।

आसिफ चाहिँ यो समाचार लेख्दासम्म क्रिजमै डटिरहेका छन् । उनलाई साथ दिन आएका छन् कुशल मल्ल । कप्तान रोहित पौडेलले आफूभन्दा पहिले मल्ललाई ब्याटिङमा पठाएका हुन् । उनले अघिल्लो म्याचमा विस्फोटक ब्याटिङ गरेका थिए ।

यो समाचार लेख्दासम्म नेपाललाई जितका लागि १२५ रनको आवश्यकता छ भने ८ विकेट हातमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर