अनेरास्ववियुको सचिवमा पहिलो पटक चिकित्सक निर्वाचित – Nepal Press

अनेरास्ववियुको सचिवमा पहिलो पटक चिकित्सक निर्वाचित

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवमा पहिलो पटक चिकित्सक सुजन कडरिया निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न महाधिवेशनबाट कडरिया सर्वाधिक मत ल्याई केन्द्रीय सचिवमा निर्वाचित भएका हुन् ।

रामेछापका स्थायी बासिन्दा डा. कडरियाले काठमाडौं विश्वविद्यालयबाट डाक्टरी डिग्री प्राप्त गरेका हुन् । अनेरास्ववियुमा लामो योगदानपछि उनले यसपटक केन्द्रीय सचिवमा उम्मेदवारी दिएका थिए । सचिव पदमा डा. कडरियासहित ४८ जना प्रतिस्पर्धामा थिए ।

‘हामीकहाँ पढेलेखेका मान्छे आफ्नो पेशा व्यवसायमै ब्यस्त हुने र राजनीति गर्नेले काम गरेनन् भन्ने विरोधमात्र गर्ने नभई आफैंले परिवर्तनको नेतृत्व गर्नुपर्छ’, सचिवमा निर्वाचित भएपछि उनले भने ।

अबको यात्रा समग्र देश र स्वास्थ्य क्षेत्रको सुधार एवं परिवर्तनमा लाग्ने उनले बताए ।

त्यस्तै केन्द्रीय कमिटीमा डा. राजन ज्ञवाली, डा. असिम घिमिरे, आकृति ढकाल र स्थायी कमिटीमा अनित सिन्हा चिकित्सा क्षेत्रबाट निर्वाचित भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर