कुशल र दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डमाथि नेपालको सनसनी जित (भिडिओ) – Nepal Press

कुशल र दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डमाथि नेपालको सनसनी जित (भिडिओ)

काठमाडौं । मध्यक्रममा दुई ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेलेपछि नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याउँदै नेपालले जारी त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकालेको हो ।

नेपालले ७७ रनमा ५ विकेट गुमाइसकेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै तीन विकेटको जित निकाल्न सफल भयो । सातौं नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्रसिंह ऐरीले संयमित पारी खेल्दै अविजित ८५ रन बनाएर नेपाललाई जितसम्म डोहोर्याए ।

त्यसअघि पाचौं नम्बरमा आएका कुशल मल्लले स्कटल्यान्डमाथि काउन्टरअट्याक गर्दै विष्फोटक इनिङ खेलेका थिए । उनी ६७ बलमा ८१ रन बनाएर आउट भए जसमा ४ छक्का र ९ चौका समावेश थियाे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेपालले स्कटल्यान्डलाई ब्याटिङमा निम्तो दिएको थियो । कप्तानको निर्णयलाई सही सावित गर्दै नेपालका बलरहरुले उत्कृष्ट सुरुवात दिलाएका थिए ।

ओपनर क्रिस्टोफर म्याकब्रिज २२ रनमा आउट हुँदा कप्तान रिची बेरिङटन र थोमस माकिन्टोस समान १९-१९ रन जोडेर पभेलियन फर्किएका थिए । ब्राडन म्याकम्युलेन २६ बलमा २२ रन र क्रिस ग्रेभिस १६ रनमा आउट भए । मार्क वाट २० रनमा आउट भए ।

एक समय २४ ओभरमा ११० रन जोड्दा ५ विकेट गुमाइसकेको स्कटल्यान्डलाई मिचेल लिस्कले खेलमा फर्काए । ८५ बलमा ९ छक्का र ३ चौकासहित लिस्कले १०७ रनको अविजित इनिङ खेलेपछि स्कटल्यान्डले ९ विकेटमा २७४ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको हो । लिस्कले ज्याक हार्भिससँग ८१ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा केवल २७ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका थिए ।

यस्तै कुशल मल्लले बलिङमा पनि राम्रो प्रदर्शन गरे । उनले ९ ओभरमा ४९ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले समान एक-एक विकेट लिएका थिए ।

नेपालले ब्याटिङमा पनि सानदार सुरुवात गरेको थियो । पहिलो ओभरमा नै २३ रन बटुलेको नेपालले २.१ ओभरमा ३१ रन बनाइसकेको थियो । तर, अघिल्लो म्याचमा सानदार शतक बनाएका कुशल भुर्तेल ८ बलमा ४ चौकासहित १६ रन बनाउँदै आउट भएपछि नेपालको ब्याटिङ लड्खडाउन थाल्यो । १०.१ ओभरमा ७७ रन जोड्दा नेपालले ५ विकेट गुमाउन पुग्यो ।

त्यसपछि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारी गर्दै नेपाललाई खेलमा फर्काए । दीपेन्द्रले ११६ बल खेल्दै १ छक्का र ८ चौकाको मद्दतमा सर्वाधिक ८५ रनको अविजित इनिङ खेले । कुशल ६७ बलमा ४ छक्का र ९ चौकाको मद्दतमा ८१ रन बनाएर क्याचआउट भएका थिए ।

गुलसन झाले १७ रन बनाउँदा सोमपाल कामी २४ रनमा अविजित रहे । स्कटल्यान्डको बलिङमा क्रिस सोलले १० ओभरमा ७२ रन र मार्क वाटले १० ओभरमा ४३ रन खर्चिएर समान तीनतीन विकेट लिए । त्यसबाहेक माइकल लिस्कले एक विकेट लिए ।

प्रतिक्रिया

One thought on “कुशल र दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डमाथि नेपालको सनसनी जित (भिडिओ)

  1. जयहोस क्रिकेट खेलको नेपालको खेल जगत र खेलाडी चम्किए राजनीति जगतका नेताहरू अस्ताउदै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर