पूर्वाधार अभावमा मन्त्रालयका कर्मचारीलाई बस्ने ठाउँको अभाव, सामान भद्रगोल – Nepal Press
प्रदेश १

पूर्वाधार अभावमा मन्त्रालयका कर्मचारीलाई बस्ने ठाउँको अभाव, सामान भद्रगोल

विराटनगर । प्रदेश १ का मन्त्रालयमा कर्मचारीलाई बस्ने ठाउँको अभाव भएको छ । प्रदेश १ सरकारका लागि आवश्यक पर्ने भौतिक संरचना नबन्दा समायोजन भएर आएका कर्मचारी जिम्मेवारीविहीन बनेका छन् त्यस्तै बस्ने ठाउँ पनि छैन । बहुमूल्य सामानको भद्रगोल छ ।

हिक्मत कार्की नेतृत्वको सरकार गठनसँगै यस प्रदेशमा १३ मन्त्रालयबाट घटाएर ९ वटा बनाइएको छ । यसअघिका मुख्यमन्त्री राजेन्द्र राईले विस्तार गरेका मन्त्रालय, यसका शाखा-महाशाखाका कर्मचारी परिचालनमा समस्या भएको हो ।

अहिलेको सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, यातायात तथा सञ्चार मन्त्रालय, उद्योग मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय खारेज गर्ने निर्णय गरेको थियो ।
मन्त्रालय खारेजगरेसँगै अरु मन्त्रालयमा महाशाखा र शाखाको रूपमा समायोजन गरिएको छ । सामान समेत कहाँ राख्ने भनेर टाउको दुखाईको विषय भएको मन्त्रालयका एक कर्मचारीले बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा यातायात तथा सञ्चार मन्त्रालय र भूमि व्यवस्था शाखा गाभिएकोमा समायोजन भई आएका कर्मचारीलाई राख्ने ठाउँको अभाव भएको छ । अहिले त्यहाँ कर्मचारीहरू दरबन्दीभन्दा २० जना बढी हुने भएका छन् ।

अहिले आन्तरिक तथा कानून मन्त्रालयमा ३८ जना कर्मचारीको दरबन्दी रहेको भएपनि अब थपिँदा यो मन्त्रालयमा ५८ जना कर्मचारी भएका छन् । थपिएका कर्मचारीलाई बस्न कोठा नभएको उपसचिव तथा प्रवक्ता अर्जुन निरौलाले जानकारी दिए । ती कर्मचारीलाई मन्त्रालयको गोदाम घरमा व्यवस्थापनको तयारी छ ।

अहिले मन्त्रालय हाताभित्र नयाँ भवन निर्माणको चरणमा रहेकोले त्यो निर्माण सम्पन्न भएपछि मात्र सहज कर्मचारीको व्यवस्थापन हुने उनले जानकारी दिए । समायोजन भएर आएका मन्त्रालयका फर्निचर अहिले व्यवस्थापन गर्न समस्या हुँदा निर्माण हुँदै गरेको भवनमा बाहिरै राखिएको छ ।

यस्तै सामाजिक विकास मन्त्रालयमा समेत मन्त्रालय समायोजन हुँदा बस्ने ठाउँ छैन । सो मन्त्रालयमा संस्कृति , श्रम तथा रोजगार शाखा समायोजन भएको छ । यसरी समायोजन भएका शाखा र महाशाखाका कर्मचारी सामान राख्न समस्या भएको मन्त्रालयका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *