जुटको उत्पादन निरन्तर घट्दै, जुट खरिदमा वार्षिक २ अर्ब विदेश जाँदै – Nepal Press

जुटको उत्पादन निरन्तर घट्दै, जुट खरिदमा वार्षिक २ अर्ब विदेश जाँदै

विराटनगर । प्रदेश १ मा निरन्तर जुट उत्पादन घट्दा वार्षिक दुई अर्ब रुपैयाँ विदेशिने गरेको छ । नेपालमा सञ्चालनमा रहेका उद्योगहरुले खपतको ७० प्रतिशत कच्चा जुट भारत र बंगलादेशबाट खरिद गर्ने गरेका छन् । कच्चा जुट खरिद गर्दा वार्षिक दुई अर्ब रुपैयाँ भारत र बंगलादेश जाने गरेको जुट उद्योग संघले जनाएको छ ।

पूर्वी तराईमा दुई दशकअघि ५० हजार हेक्टरमा हुने गरेको थियो  । अहिले भने ७ हजार ४०० हेक्टरमा जुट खेती हुने गरेको जुट बाली अनुसन्धान केन्द्र इटहरीले जनाएको छ । जुट अनुसन्धान केन्द्र इटहरीका अनुसार पूर्वी तराईमा गतवर्ष ८ हजार टन कच्चा जुट उत्पादन भएको थियो  ।

नेपालमा वार्षिक ६५ हजार मेट्रिक टन कच्चा जुट आवश्यक पर्ने गर्छ । आवश्यक जुट नहुँदा प्रदेश १ का आधा भन्दा बढि जुट उद्योगहरु बन्द भएका छन् । सञ्चालनमा रहेका ५ वटा उद्योगहरु पनि जेनतेन सञ्चालनमा छन् । विराटनगरमा ११ वटा जुट उद्योग थिए । ति मध्ये ६ वटा पूर्णरुपमा बन्द भएका छन् ।

अहिले दुहवीस्थित अरिहन्त मल्टिफाइबर्स लिमिटेड, रघुपति जुट मिल्स, नेपाल जुट, स्वास्तीक जुट सञ्चालनमा रहेका छन् । दुई दशकअघिसम्म पूर्वी तराइका जिल्ला जुटखेतीका लागि उर्वरभूमि मानिन्थ्यो । यी जिल्लामा उत्पादित कच्चा जुटले दर्जनभन्दा बढी उद्योग सञ्चालनमा थिए ।

नेपालमा उत्पादन भएको जुट भारत निकासी हुने गरेको जुट उद्योगी राजकुमार गोल्छाले बताए । वर्षेनी जुटखेती खुम्चिँदै जाँदा कच्चा पदार्थको अभावमा उद्योगहरु धमाधम बन्द भएको गोल्छाले बताए ।

किसानलाई आर्थिक र प्राविधिक सहयोग गर्ने तत्कालीन जुट विकास केन्द्र बन्द भएसँगै किसानले जुट खेती गर्न छाडेको जुट उद्योगीहरुले बताए ।

जुट विकास संस्थान अस्तित्वमा हुँदा किसानलाई आर्थिक र प्राविधिक सहयोग हुन्थ्यो । किसान पनि जुट खेतीमा आकर्षित थिए । संस्थान बन्द भएसँगै किसानले सहयोग पाउन छाडेको जुट बाली अनुसन्धान केन्द्र इटहरीले जनाएको छ ।

जुट बाली अनुसन्धान केन्द्र इटहरीका प्रमुख तीर्थ रिजालले मोरङ, सुनसरी, झापा, सप्तरी र सिरहाका किसानलाई बर्षेनी बीउ निःशुल्क वितरण गर्दै आएको बताए । जुट खेति गर्ने किसानलाई दिइने सहुलियत बन्द भएपछि किसानले जुट खेती नै गर्न छाडेको रिजाल बताँउछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *