मुन्सेको शतकमा नामिबियामाथि सानदार जीत निकाल्दै स्कटल्याड लिग २ च्याम्पियन – Nepal Press

मुन्सेको शतकमा नामिबियामाथि सानदार जीत निकाल्दै स्कटल्याड लिग २ च्याम्पियन

काठमाडौं । ओपनर जर्ज मुन्सेको सानदार शतकको मद्दतमा नामिबियालाई १० विकेटले पराजित गर्दै स्कटल्यान्ड आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ को च्याम्पियन बनेको छ ।

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालमा जारी त्रिदेशीय शृंखलामा स्कटल्याण्डले बुधबार नामिबियालाई १० विकेटले पराजित गरेको थियो । लिग २ का ३६ खेलमध्ये ३३ खेल खेलेको स्कटल्यान्ड २३ जीत र ८ हारमा ४८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहँदै तीन खेलअगावै च्याम्पियन बनेको हो ।

लिगका सबै खेल खेलिसकेको ओमानको २१ जीत, १३ हार र एक बराबरीको नतिजासहित ४४ अंक जोडेर दोस्रो स्थानमा छ ।

स्कटल्यान्डले लिग २ च्याम्पियन बन्न बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको १५४ रनको सामान्य लक्ष्य पछ्याएको थियो ।

नामिबियाले दिएको लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा कुनै पनि विकेट नगुमाई पुरा गरेको हो । स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले सानदार शतक प्रहार गरे । उनले ६१ बलमा १२ चौका र ७ छक्कासहित सर्वाधिक १०३ रनको योगदान गरे ।

केयल क्योटजारले ७२ बलमा ७ चौकासहित ४६ रनको योगदान गरे ।

यसअघि टस हारेर ब्याटिङ थालेको नामिबियाले ३९.१ ओभरमा अलआउट हुँदै १५३ रनको योगफल तयार पारेको थियो ।

नामिबियाका लागि लौरेन्सले ८८ बल खेल्दै ५ चौकाको मद्दतमा संघर्षपूर्ण अर्धशतकीय इनिङ खेले । शीर्ष क्रम धरापमा परेको बेला मध्यक्रमका ब्याटर जाने ग्रिनले केहीबेर नामिबियाको इनिङ सम्हालेका थिए ।

उनले ३५ बल खेल्दै ४ चौकाको मद्दतमा २५ रनको योगदान गरे । पिक्या या फ्रान्सले ११ रन र बर्नार्ड स्कोल्ज ३३ बलमा ४ चौका र दुई छक्कासहित २८ रनमा अविजित रहँदा नामिबियाका अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन चुके ।

स्कटल्याण्डको बलिङमा सफ्यान सारिफ, मार्क वाट र मिचेल लियस्कले समान तीनतीन विकेट लिए । सारिफले ८ ओभरमा २ मेडन राख्दै २९ रन खर्चिए । वाटले ८.३ ओभरमा १ मेडन राख्दै २९ रन र लियस्कले ८ ओभरमा १ मेडनसहित २४ रन खर्चिए ।

नामिबियाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *