त्रिवि मैदानको दृश्य: सन्दीपको नाममा समर्थकको हुटिङ, नेपालको जीतले छायो खुशी (तस्वीरहरु) – Nepal Press

त्रिवि मैदानको दृश्य: सन्दीपको नाममा समर्थकको हुटिङ, नेपालको जीतले छायो खुशी (तस्वीरहरु)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेले आज त्रिवि मैदानमा सुखद पुनरागमन गरेका छन् । उनी ६ महिनापछि मैदानमा फर्किंदा क्रिकेट समर्थकहरुले हुटिङसहित न्यानो स्वागत गरे ।

सन्दीपलाई राष्ट्रिय टीममा राखिएको विषयलाई लिएर केही महिलावादीले ट्विटरमा निरन्तर प्रश्न उठाइरहेका थिए । उनीहरुको बोलीमा लोली मिलाउँदै नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सन्दीपलाई टीममा राख्न नहुने आशयको स्टाटस लेखे । तर, क्रिकेट समर्थकमा भने सन्दीपको क्रेज यथावत देखिएको छ ।

आज सार्वजनिक यातायात नचलेको भए पनि त्रिवि मैदानमा उल्लेख्य संख्यामा दर्शकको उपस्थिति थियो । उनीहरु सबैको सबैभन्दा चासोमा थिए सन्दीप । कतिपय दर्शकले सन्दीपकै लागि मैदानमा खेल हेर्न आएकोसमेत बताए । केहीले उनको नाम लेखिएको प्लेकार्ड बोकेका थिए ।

सन्दीप १० ओभरपछि बलिङमा आउनासाथ दर्शक दीर्घाबाट चर्को हुटिङ सुरु भयो । उनीहरुले सन्दीप.., सन्दीप… भन्दै नाराबाजीसमेत गरे । सन्दीपले पनि समर्थकहरुलाई निराश बनाएनन् । आफूले फ्याकेको दोस्रो बलमै उनी विकेट लिन सफल भए । त्यसपछि त के थियो, समर्थकहरु उफ्रीउफ्री नाच्न थाले ।

यो विकेट सन्दीप स्वयंका लागि अविस्मरणीय थियो । विकेट लिएपछि उनी भावविह्वल भएर साथी खेलाडीहरुको अंगालोमा रोएका थिए । यसले त्रिवि मैदानमा एकछिन भावुक माहोल बन्यो । बलरका लागि कठिन पीचमा सन्दीपले ३ विकेट लिँदै आफ्नो पुनरागमन सार्थक बनाएका छन् ।

सन्दीपले आज ब्याटिङको मौका पनि पाए । कुशल भुर्तेल आउट भएपछि जीतको औपचारिकतामात्र बाँकी छँदा सन्दीपलाई पठाइएको थियो । उनी ब्याटिङमा आउँदासमेत दर्शकले हुटिङ गरेका थिए ।

तर, उनी पहिलो बलमै आउट भए । छक्का हान्ने धुनमा उनी क्याचआउट भएका थिए । तर, त्यसले खेलको समीकरणमा कुनै फरक परेन ।

नेपालले खेल जितेपछि खेलाडीहरु सबै फ्यानतर्फ केन्द्रित भएका थिए । अन्य खेलाडीहरु फ्यानलाई हात हल्लाउँदै अघि बढ्दा सन्दीप सबैभन्दा पछिपछि गम्भीर मुद्रामा थिए । उनलाई क्यानका अधिकारीले फ्यानहरुबाट टाढा बस्न सुझावसमेत दिएका थिए ।

यद्यपि सन्दीपले केही फ्यानहरुलाई आफ्नो अटोग्राफ दिन भ्याए ।

भ्यालेन्टाइन्स डेका दिनमा नेपाली क्रिकेट टीमले फ्यानहरुलाई मीठो जीतको उपहार दियो । केही दर्शकहरु जोडीसहित मैदानमा उपस्थित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर