गेटा मेडिकल कलेज निर्माणमा लेखराज भट्टको हुटहुटी, जसले चर्चाबिना गरिरहे काम – Nepal Press

गेटा मेडिकल कलेज निर्माणमा लेखराज भट्टको हुटहुटी, जसले चर्चाबिना गरिरहे काम

कैलाली । फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिम पुगे । नेपाली सेनाको हेलिकप्टरबाट धनगढी विमानस्थल पुगेलगत्तै पहिले उनी गेटास्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण गर्न पुगे ।

गेटा मेडिकल कलेजबाट परिचित उक्त संरचनालाई सरकारले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको नाम दिएको छ । प्रधानमन्त्रीसँगै थिए स्वास्थ्य मन्त्री पदम गिरी र उद्योग वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारी । तर, उक्त संरचना निर्माणका लागि लागिपरेका पूर्व मन्त्री लेखराज भट्ट भने त्यहाँ थिएनन् ।

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय कैलाली क्षेत्र नम्बर ४ मा पर्छ । जहाँबाट भट्ट निरन्तर निर्वाचन लड्दै आइरहेका छन् । २०६४ सालमा पहिलो पटक संविधान सभा सदस्यमा निर्वाचित भएपनि भट्टले सुदूरपश्चिम प्रदेशका बिग्रँदो स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर यहाँ मेडिकल कलेज निर्माणको योजना ल्याएका थिए ।

त्यो बेला प्रधानमन्त्री प्रचण्ड नै थिए । तत्कालीन सुदूर पश्चिमाञ्चल विकासमा एउटा पनि गतिलो स्वास्थ्य संस्था नभएपछि भट्टले ठूलो मेडिकल कलेजको परिकल्पना गरेका थिए ।

‘घना जङ्गल रहेको क्षेत्रमा मेडिकल कलेजको परिकल्पना त्यो बेला धेरैलाई विश्वास लागेको थिएन तर, अहिले त्यहि क्षेत्रमा भएका संरचनाहरूले सुदूरपश्चिममा स्वास्थ्य क्रान्तिको आसा पलाएको छ’गोदावारी नगरपालिकाका निवर्तमान मेयर हरिसिंह साउद भन्छन्, यहाँ यो संरचना निर्माण गर्न उहाँ (लेखराज भट्ट)ले धेरै भूमिका खेल्नु भएको छ ।’

२०६५ भदौमा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बनेका थिए । उक्त मन्त्रीमण्डलमा सुदूरपश्चिमबाट एक्लो प्रतिनिधित्व भट्टले गरेका थिए । भट्ट त्यो बेला श्रम मन्त्री थिए । भट्टकै पहलमा सरकारले २०६६ सालमा कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । बन क्षेत्र भएका कारण त्यहाँ करिब एक दशक कामले तीव्रता पाउन सकेन ।

भौतिक संरचना निर्माणको काम २०७४ सालदेखि मात्र सुरु भएको थियो । २०७४ फागुन ३ गते केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बने। त्यो बेला पनि भट्ट मन्त्री थिए । पहिलो पटक मन्त्री हुँदा अघि सारेको योजना भट्टले दोस्रो पटक मन्त्री हुँदा तीव्रता दिए ।

कलेज निर्माणका लागि सरकारले छुट्टाएको ५१ दशमलव आठ हेक्टर जग्गामा धमाधम संरचना निर्माण सुरु भए । संरचना निर्माण सुरु भएको करिब ५ वर्षमा करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

मेडिकल कलेज निर्माण सुरु गरिँदा आठ अर्ब ३४ करोड रुपैयाँ लागत अनुमान रहेको थियो । यो आयोजनाको गुरुयोजना अद्यावधिक हुँदा निर्माणको लागत अनुमान बढ्ने जनाइएको छ । अहिलेसम्म भौतिक संरचना निर्माणमा चार अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ ।

कलेज र अस्पताल सञ्चालनका लागि आवश्यक संरचना गत वर्ष नै सम्पन्न भएका छन् । अस्पताल, कलेज, छात्रावास, आवासलगायत भवनहरू तयार भइसकेका छन् ।

सरकारले सञ्चालनको प्रारूप टुङ्गो नलगाउँदा अन्योलमा परेको गेटा मेडिकल कलेजलाई भर्खरै शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको नाम दिइएको छ । प्रधानमन्त्री प्रचण्डले पनि आजै यसको निरीक्षण गरेका छन् । आफू निरीक्षणमा नपुगे पनि पूर्व मन्त्री भट्ट आफूले सुरु गरेको योजना अघि बढ्ने कुराले उत्साहित छन् ।

‘डेढ दशक पहिले मैले परिकल्पना गर्दा धेरैलाई पत्याउन कठिन भएको थियो अहिले त्यसले पूर्णता पाइरहेको छ’ भट्टले भने ‘जुन सरकार आए पनि गेटा मेडिकल कलेजलाई प्राथमिकतामा परोस् मेरो त्यहि चाहना छ ।’

गेटाको मेडिकल कलेज मात्र होइन प्रधानमन्त्री प्रचण्डले आज निरीक्षण गरेको सुख्खा बन्दरगाह,महाकाली पुल,महाकाली कोरिडोर पनि भट्ट मन्त्री हुँदा परिकल्पना गरेका थिए । उनले त्यो बेला परिकल्पना मात्रै गरेनन् बजेट विनियोजन गरेर कामको पनि थालनी गरेका थिए ।

अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पनि सुदूरपश्चिमकै हुन् भट्टले सुरु गरेका सुदूरपश्चिमका ठुला योजनाहरू अहिले मन्त्री भण्डारीको पनि प्राथमिकतामा छ । माघ २६ गते कैलाली उद्योग वाणिज्य सङ्घले गरेको स्वागत तथा सम्मानमा सुदूरपश्चिमका ठुला योजनाहरू सरकारको प्राथमिकतामा परेको बताएका थिए ।

सुख्खा बन्दरगाह,महाकाली पुल,महाकाली कोरिडोरसँगै दैजि छेला औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र पनि अत्तरिया धनगढी औद्योगिक कोरिडोर पनि पूर्व मन्त्रीका परिकल्पना र योजना हुन् । अहिले केही सुरु भएका छन् केही सुरु हुने योजनामा छन् ।

पछिल्लो एक दशममा भएका प्रगति दशकौँदेखि सुदूर पश्चिमा रहेका नेताहरूले गर्न नसकेको र गर्न नचाहेको आरोप छ । यता भट्ट भने सुदूरपश्चिमको समृद्धि अभियानमा लागिराख्ने बताउँछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर