एलपीएलको अन्तिम चारमा पुग्ने टीमको टुङ्गो – Nepal Press

एलपीएलको अन्तिम चारमा पुग्ने टीमको टुङ्गो

कैलाली । कैलालीको धनगढीमा जारी विद्यालयस्तरीय यू-१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को अन्तिम चारमा पुग्ने टीमको टुङ्गो लागेको छ।

सोमबार कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिरले अत्तरियाको गुराँस एकेडेमीलाई पराजित गरेसँगै एलपीएलको अन्तिम चारमा पुग्ने ४ टोलीको टुङ्गो लागेको हो ।

जारी संस्करणमा अपराजित रहेको डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमी, लोटस आई स्कुल अत्तरिया र लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी यसअघि नै अन्तिम चारमा पुगिसकेका टोली हुन् ।

सोमबार अन्तिम चारका लागि भएको निर्णायक खेलमा नव बाल बालबाटिकाले गुराँस एकेडेमीलाई ७३ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको बालबाटिकाले २० ओभर खेल्दै ७ विकेट गुमाएर १४१ रन बनायो । १४२ रनको विजयी लक्ष्य पछ्याएको गुराँसले १४.१ ओभरमा आफ्ना सबै विकेट गुमाएर ६८ रनमात्रै बनाउन सक्यो ।

अब प्रतियोगितामा मङ्गलबार लिग चरणको अन्तिम खेल शारदा विद्या निकेतन र सैनिक आवासीय महाविद्यालय तेघरीबीच हुनेछ । दुवै टोली प्रतियोगिताको उपाधि होडबाट भने बाहिरिइसकेका छन् ।

बिहीबार दुई सेमिफाइनल र शनिबार उपाधि भिडन्त हुनेछ । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १११ र उपविजेतालाई १ लाख २५ हजार ५२५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०–१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टीममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर