गगन थापाको घोषणा- फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउँछौं (भिडिओ) – Nepal Press

गगन थापाको घोषणा- फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउँछौं (भिडिओ)

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने बताएका छन् । फागुन १० गतेभित्र अँध्यारोमा आएर नभई दिउसो उज्यालोमा आएर भत्काउने प्रयत्न रहने र भत्काएरै छाड्ने थापाले घोषणा गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने दावी गरेका हुन् ।

महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म संगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्याण्डेट विपरीत बनेको बर्तमान सत्ता गठबन्धन भत्काउने जिकिर गरे ।

उनले निर्वाचन अगाडि जनतासंग जाँदा एउटा गठबन्धन र निर्वाचनपछि सरकार बन्दा अर्को गठबन्धन हँुदा जनतामा नैराश्यता छाएको उल्लेख गर्दै जनताको म्याण्डेटअनुसार सत्ता गठबन्धन अगाडि बढ्नुपर्नेमा बताए । चुनावभन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाई नभएपनि व्यवहारमा उच्च राजनैतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाको भनाइ छ ।

नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उनले दाबी गरेका छन् । फागुन २५ गते नेपाली कांग्रेसले उठाएको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने आरोप लगाएका छन् ।

उनले सत्ता र शक्तिको दुरुपयोग हुन नदिनका लागि एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा पराजित हुने जिकिर गरे । उनले एमाले अध्यक्ष केपी ओलीले भनेको व्यक्ति राष्ट्रपति भए सिंहदरवारबाटै शितलनिवासको लेटर प्याड र रवर स्ट्याम्पले राष्ट्रपतिको काम हुने भन्दै देशलाई दुर्घटनाबाट जोगाउन कांग्रेसले तय गरेको व्यक्ति राष्ट्रपति हुने उल्लेख गरे ।

महामन्त्री थापाले लोकतन्त्र र संविधानको रक्षा तथा प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि कांग्रेसको विकल्प नभएको दाबी गरे ।

पार्टीभित्र केही मतभेद रहे पनि त्यसलाई पार्टीमा बसेर समाधान गर्ने बताउँदै उनले वर्तमान समयमा देखिएको आर्थिक लगाएतका समस्या समाधानका लागि पनि नेपाली कांग्रेस पार्टी लागिपरेको थापाले बताए । कांग्रेस नेतृत्वको गठबन्धनले भोट माग्दा नागरिकसँग गरेका वाचा र प्रतिबद्धतालाई पूरा गर्ने दायित्वबाट पछि नहट्ने उनले बताए ।

 

प्रतिक्रिया

4 thoughts on “गगन थापाको घोषणा- फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउँछौं (भिडिओ)

  1. हेर यिनको कुवुद्वि ! गठबन्धन भत्काएर देशमा अस्थिरता ल्याउने घैटेका दोस्तलाई के भनौ?

  2. गठबन्धन भत्काएर देशमा अस्थिरता ल्याउने के भनौ ?

  3. हिजो एमालेको भोटले जितेका माओवादी र समाजवादीले शेर बहादुरलाई प्र.म. बनाउंदा खुब आनन्द मान्यौं, अहिले कंग्रेसको भोट ले जितेको माओवादीले छोड्दा पछुतो मान्दैछौं । कस्तो हुंदो रहेछ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर