सार्वजनिक बिदाबारे गगनले भने- स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाऔं – Nepal Press

सार्वजनिक बिदाबारे गगनले भने- स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाऔं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब दिनुपर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जनयुद्ध दिवसको आवसरमा आज सार्वजनिक बिदा दिएपछि उनले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले फेशबुकमा लेखेका छन्, ‘पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको छ । कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि। झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन् ।’

आज सार्वजनिक बिदा दिनु नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज भएको उल्लेख गर्दै अराजकता भएको टिप्पणी गरे ।

उनले भने, ‘कार्यकारीको यस्तो स्वेच्छाचारितालाई नियमन गर्न उसैलाई जिम्मा दिनुको के अर्थ ? कार्यकारी स्वेच्छाचारितालाई रोक्ने व्यवस्थापिकाले हो । यो विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिन्छ ।’

न्युजिल्यान्ड, जापानलगायत विश्वका थुप्रै देशहरूमा सार्वजनिक बिदा सम्बन्धी कानुन भएको समेत बताए ।
‘नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित छ । अब संसदमा तत्कालै गर्नुपर्ने विषयमा यसलाई राखौँ’ उनले भने, ‘सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिउँ। यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिनेछ ।’

सरकार बिदा दिएपछि चौतर्फी विरोध हुँदा पनि महामन्त्री थापा नबोलेपछि कांग्रेस नेता मिनेन्द्र रिजालले उनीमाथि पनि प्रश्न उठाएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर