सभामुख घिमिरे र बेलायती राजदूतबीच भेटवार्ता – Nepal Press

सभामुख घिमिरे र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेट गरेकी छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको भेट  दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदानलगायतमा केन्द्रित थियो ।

सभामुखमा निर्वाचित भएपछि घिमिरेले भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका छन् ।

बेलायती राजदूत पोलिटसँगको भेटमा सभामुख घिमिरेले दुई देशबीच सरकार–सरकार मात्र नभई जनता–जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गरे ।

‘बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो,’ सभामुख घिमिरेले भने, ‘दुई देशबीच २ सय वर्ष पुरानो सम्बन्ध अविस्मरणीय छ । विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौँ ।’

बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा संसदीय आदानप्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए ।

जवाफमा बेलायती राजदूत पोलिटले नेपाल र बेलायतीबीच दौत्य सम्बन्ध कायम भएको एक सय वर्ष पुगेको अवसरमा नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको समेत जानकारी दिइन् ।

उनले विधायन निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।

राजदूत पोलिटले गत निर्वाचनमार्फत नयाँ राजनीतिक दल र नयाँ प्रतिनिधिसभा सदस्य निर्वाचित भएको उल्लेख गर्दै संसदमा उनीहरूको उपस्थितिले नयाँपन आउने अपेक्षा गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर