बुटवलमा सार्वजनिक-निजी-सहकारी साझेदारीमा पशु बधशाला सञ्चालन हु्ने – Nepal Press

बुटवलमा सार्वजनिक-निजी-सहकारी साझेदारीमा पशु बधशाला सञ्चालन हु्ने

रुपन्देही । बुटवलमा निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीचमा पशु बधशाला सञ्चालन गर्ने सहमति भएको हो ।

दुई पक्षबीच भएको सहमतिअनुसार पशु बधशाला सञ्चालनमा आउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणाबमोजिम बधशाला व्यवस्थित सञ्चालन गर्न बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइने उनले जानकारी दिए ।

बधशाला सञ्चालनका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गर्ने उनको भनाइ छ ।

बधशाला निर्माण र सञ्चालनमा बाख्रापालन गर्ने किसानदेखि मासु बिक्री गर्ने व्यवसायीसम्म साझेदार रहेका छन् । बधशाला सञ्चालन गर्न उपमहानगरपालिकाले नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरेको थियो ।

विधेयकले पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजतपत्र लिनुपर्नेलगायत व्यवस्था गरेको छ ।

बधशाला सञ्चालनबारे एकसाताभित्र सम्झौता भई सञ्चालनमा ल्याइने गरी सहमति भएको छ । बधशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन भएको र कार्यदलले नियमित रुपमा अनुगमन र व्यवस्थापनसमेत गर्ने निर्णय भएको उपमहानगरका प्रमुख कार्यकारी अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

रुपन्देही मासु व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले बुटवल उपमहानगरसँग पशु बधशाला सञ्चालनमा देखिएका अन्योल टुंगिएकाले छिट्टै सञ्चालन हुने जानकारी दिए । बधशालाको परीक्षण सफलसमेत भइसकेको उनको भनाइ छ ।

बधशाला सञ्चालन र व्यवस्थापन गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपैयाँ बुझाउनेछ ।

बुटवल उपमहानगरपालिका- १० रामनगरमा २ विगा ३ कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *