अर्थमन्त्री पौडेललाई पूर्वएमाले सांसदहरुको प्रश्न- अर्थतन्त्रको सुधार र न्यूनतम साझा कार्यक्रममा कहाँ तादात्म्य मिल्यो ? – Nepal Press

अर्थमन्त्री पौडेललाई पूर्वएमाले सांसदहरुको प्रश्न- अर्थतन्त्रको सुधार र न्यूनतम साझा कार्यक्रममा कहाँ तादात्म्य मिल्यो ?

काठमाडौं । पूर्वएमाले नेता एवं वर्तमान नेकपा एकीकृत समाजवादी का सांसदहरुले एमाले सांसद एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थतन्त्रको सुधार र न्यूनतम साझा कार्यक्रमको तादात्म्य कसरी मिल्यो भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक समीक्षा प्रस्तुत गरेका थिए । उक्त समीक्षामा प्रश्न गर्दै नेकपा एसका सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रश्न गरे, ‘अहिलेको अर्थतन्त्रको सुधार ल्याउने र नयाँ कार्यक्रमलाई पूरा गर्ने कुरा कसरी तादात्म्य हुनसक्ला ?’

उनले स्वदेशी मालले बजार नपाउने र ओपन बोर्डरबाट भन्सार नतिरी चोरी गरेर ल्याइएका सामानले ठाउँ लिने हो भन्दै थप प्रश्न गरे ।

अर्थमन्त्रीले प्रस्तुत गरेको अर्थतन्त्र सुधारको योजना आफूलाई कुनै योजना नलागेको सांसद पाण्डेको भनाइ थियो ।

‘तपाईं अनुभवी अर्थमन्त्री हुनुहुन्छ । पटक-पटक अर्थमन्त्री भइसक्नुभयो । तपाईंलाई अर्थमन्त्री हुँदा नै थाहा थियो कि नेपालको अर्थ अवस्था कमजोर हुँदैछ, आरोलो लाग्दैछ र यसलाई मैले सम्हाल्नुपर्छ’, उनले भने, ‘आज तपाईंले सुधारका केही योजना भन्नुभयो । तर, मैले सुधारका योजना त खासै केही देखिनँ । एकातिर आर्थिक अवस्था यस्तो अप्ठ्यारो छ, पूँजीगत खर्च बढेको छैन, साधारण खर्च बढेको छ । तपाईं आफैं बसेर फेरि न्यूनतम साझा कार्यक्रम पनि घोषणा गर्नुभएको छ । त्यसले अर्बौं रुपैयाँ माग पनि गर्दो होला । अहिलेको अर्थतन्त्रको सुधार ल्याउने कुरा र नयाँ कार्यक्रमलाई पूरा गर्ने कुरा कसरी तादात्म्य हुनसक्ला ? कसरी समाधान गर्नुहोला ?’

नेकपा एसका सांसद प्रकाश ज्वालाले गौरवका आयोजनाहरु अलपत्र रहेको गुनासो गरे । ती आयोजनामा बजेट सुनिश्चित गर्ने, टेण्डर गर्ने, तर त्यसको कार्यान्वयन नगर्ने, बजेट नपठाउने खालको बेथिति रहेको भन्दै उनले त्यसलाई कसरी अन्त्य गर्नुहुन्छ भन्दै प्रश्न गरे ।

‘बैंकिङ तरलता अभाव समाधानको के उपाय छ ? पुराना नोट खिचेर हुन्छ कि ? अन्य केही विकल्पहरु छन् कि त्यसतर्फ सरकारले ध्यान दिएको छ कि छैन ?’। सांसद ज्वालाले प्रश्न गर्दै भने, ‘वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरुको ब्याजदर घटाउने बारेमा सरकारको के कार्यक्रम छ ? पूँजीगत खर्च बढाउने, साधारण खर्च घटाउने, प्रशासन खर्च कटाउने र फजुल खर्च अन्त्य गर्न के कार्यक्रम छ ?’

नेकपा एसकै अर्का सांसद मेटमणि चौधरीले नेपालको कमर्सियल बैंकले ४७ खर्ब १७ अर्ब ऋण प्रवाह गरेको, यसमध्ये २८ खर्ब १७ अर्ब उच्च घरानिया भनिने एकसय परिवारले उपयोग गरिरहेको र १८ खर्ब ८८ अर्ब १६ लाख परिवारमा वितरण भएको उल्लेख गर्दै नेपाली अर्थतन्त्र उच्च घरानियाहरुको नियन्त्रणमा फसेको बताए ।

पौडेललाई समाजवादउन्मुख अर्थतन्त्रमा विश्वास राख्ने अर्थमन्त्री भन्दै उनले यही तरिकाले समाजवादउन्मुख अर्थतन्त्र कायम रहनसक्छ ? भन्ने प्रश्न गरे ।

सांसदहरुको प्रश्नमा अर्थमन्त्री पौडेलले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक काम गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *