विश्वासको मत दिने पार्टीहरूको भावनालाई सम्बोधन गरेर अघि बढ्छु : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

विश्वासको मत दिने पार्टीहरूको भावनालाई सम्बोधन गरेर अघि बढ्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मतपछि राजनीतिक परस्थिति फेरिएको बताएका छन् । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिमा जोड दिइरहेका उनले विश्वासको मत दिने पार्टीहरूको भावनालाई सम्बोधन गरेर अघि बढ्ने बताए ।

आइतबार दिउँसो पार्टी केन्द्रीय सदस्य सम्मिलित वागमती प्रदेशस्तरीय समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको औचित्यबारे प्रष्टयाए ।

उनले भने, ‘विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ । विश्वासको मतपूर्व एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो । सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्नुछ । हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ । त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु ।’

उनले २ महिनाछि पार्टीमा व्यापक रूपान्तरण हुने पनि दाबी गरे ।

प्रचण्डले भने, ‘पार्टीको स्थायी समिति बैठकले २ महिना संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अब पार्टीका सबै नेता, कार्यकर्ता जनतामा जानुछ । २ महिना पार्टीका तल्ला कमिटीमा जान्छौं, कार्यकर्ता र जनतासँग अन्तर्क्रिया गर्छौं ।’

अभियानले पार्टीको अवस्था र कार्यकर्ता, जनताको आकांक्षा पहिचान गरेर केन्द्रीय समितिको पूर्ण बैठकले व्यापक रुपान्तरण गर्ने उनको दाबी छ ।

‘हामीले सरकारको नेतृत्व गरिरहेका छौँ, यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो’, प्रधानमन्त्रीले भने, ‘यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेका छौं । सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्छ । सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुनर्निर्माणको आधार तयार पार्नु पनि हो । तपाईँहरू पनि यसलाई केन्द्रमा राखेर काम गर्नुहोला ।’

प्रतिक्रिया

One thought on “विश्वासको मत दिने पार्टीहरूको भावनालाई सम्बोधन गरेर अघि बढ्छु : प्रधानमन्त्री प्रचण्ड

  1. ओलीले एमाले र माओवादी एकिकरण गरि नेकपा बनाएर पहिलो गल्ती गरे अब यो १७००० को ज्यानमारा लाइ प्रधानमन्त्री बनाएर अर्को ऐतिहासिक गल्ती गरे । चाँडै अब कांग्रेस र एमाले मिलेर ५ बर्ष देश चलाउ र बिगत मा गरेका तमाम गल्तीहरु सच्याउ जनता ले तिमी हरु लाइ एक मौका अबस्य दिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर