इनरुवाको राजस्वमा वडाध्यक्ष र सचिवको रजाइँ, नगरपालिकामा ६ महिनादेखिको बक्यौता – Nepal Press

इनरुवाको राजस्वमा वडाध्यक्ष र सचिवको रजाइँ, नगरपालिकामा ६ महिनादेखिको बक्यौता

मेयर केदार भण्डारी भन्छन्- सबै पैसा जम्मा गर्न भनेको छु

विराटनगर । सुनसरीको इनरुवा नगरपालिकाका अधिकांश वडा कार्यालयले स्थानीयस्तरमा संकलित राजस्व व्यक्तिगत रूपमा खर्च गरिरहेको पाइएको छ ।

बैंक दाखिला नगरी उक्त रकम ‘पकेट’ खर्च चलाउन थालेपछि नगरपालिकाले ताकेतासमेत गरेको छ । तर, ताकेतापछि पनि पैसा बैंक जम्मा नगरिएको इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले नेपाल प्रेसलाई बताए ।

‘वडाले संकलन गरेको राजस्व बैंक खातामा दाखिला नभई व्यक्तिगतरूपमा चलाएको पाइएपछि हामीले मौखिकरूपमा भन्यौं’, राईले भने, ‘मौखिक रूपमा गरिएको आग्रह नमानेपछि अब पत्र काट्ने तयारी गरिरहेका छौं ।’

इनरुवा नगरपालिकामा रहेका १० वटै वडा कार्यालयले चालू आर्थिक वर्षको साउन महिनादेखि करबापत लिएको रकम नगरपालिकाको राजस्व शाखाको खातामा जम्मा नगरेका हुन् । आन्तरिक आयतर्फको आम्दानी शून्य अवस्थामा रहेपछि प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले उक्त रकमको खोजी थालेका थिए ।

लेखा तथा राजस्व नियमावली तथा निर्देशिकाअनुसार कुनै पनि सरकारी कार्यालयमा भएको दैनिक आम्दानी रकम सोही दिन वा भोलिपल्ट बिहान १० बजेसम्म सरकारी ढुकुटीमा जम्मा गर्नुपर्ने व्यवस्था छ । तर, इनरुवाका वडा कार्यालयले यसलाई पालना नगरेकका हुन् ।

इनरुवा नगरपालिकाको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयमा रहेको २२२०१००३०१०१००३ नम्बरको राजस्व खातामा रकम जम्मा नभएपछि राजश्वबापत उठ्ने रकम कहाँ गयो भनेर खोजबिन गरिएको प्रमुख प्रशासकीय अधिकृत राईको भनाई छ ।

२६ लाख रूपैयाँसम्म व्यक्तिगत खर्चमा

इनरुवा वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापाले २६ लाख रूपैयाँ चलाएका छन् । पालिकाले ताकेता गरेपछि उनले साउनदेखि संकलित राजस्व व्यक्तिगत काममा खर्च गरेको स्वीकार गरेका छन् ।

वडाध्यक्ष थापाले कार्यपालिका बैठक र लेखाफाँटसँग उक्त रकम आफूले व्यक्तिगत काममा प्रयोग गरेकोले छिट्टै रकम बुझाउने प्रतिबद्धता व्यक्ति गरेको स्रोतले जनाएको छ । धेरै पटकको ताकेतापछि वडा सचिवले शुक्रबार पाँच लाख रूपैयाँ राजस्व खातामा जम्मा गरेका छन् ।

इनरुवा १ र ५ नम्बरका वडा सचिवहरूले पनि शुक्रबार राजस्व जम्मा गरी फरफाराक गरेका छन् ।

वडा नम्बर ३ बाहेकका सबै वडाले राजस्व व्यक्तिगत काममा खर्च गरेको र ताकेता गरेपछि अहिले केही पैसा जम्मा हुन थालेको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

स्रोतका अनुसार एकजना वडाध्यक्षले राजस्वबापतको रकम वडा सचिवबाट बुझेर वैदेशिक रोजगारीका लागि साउदी जाने चार युवालाई ब्याजमा ऋण लगानी गरेका छन् । साउदी पुगेका ती युवाले रकम नतिरेकाले राजस्व बैंकमा दाखिला हुन सकेको छैन ।

लेखा अधिकृत अशोक मेहताले राजस्व शाखामार्फत रकम बैंकमा दखिला भएको भौचर दैनिक बिहान १० बजे कार्यालय समयभित्र बुझाउनुपर्ने आर्थिक नियम रहेकाले सोअनुसार राजस्व रकम जम्मा हुन नसकेको स्वीकारे ।

मेहताले भने, ‘राजस्व शाखासँग विवरण लिनुस्, आन्तरिक आम्दानीतर्फको रकम जम्मा नहुँदा विकासमा असर पुगेको छ ।’

सबै पैसा जम्मा गर्न भनेको छु : मेयर

वडामा उठाइएको राजस्व तत्काल बैंकमा जम्मा गर्न निर्देशन दिएको इनरुवाका मेयर केदार भण्डारीले बताए । उनले वडा सचिवको जिम्माममा राजश्व रकम हुने भएकाले वडा सचिवलाई पनि यसमा जिम्मेवार हुन भनेको नेपाल प्रेसलाई बताए ।

मेयर भण्डारीले भने, ‘वडा नम्बर ३ ले मात्रै राजस्व रकम बैंकमा जम्मा गरेको छ । अन्य वडाको रकम थोरबहुत व्यक्तिगतरूपमा चलाएको पाइएको छ । उनले के कति रकम जम्मा गर्न बाँकी रहेको छ यसबारेमा छानबिन भइरेको बताए ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर