उद्योगी-व्यवसायीद्वारा सडक आन्दोलनको घोषणा : बैंक ब्याज वृद्धि र उद्योग तथा व्यापारमा सिण्डिकेटको विरोध (भिडिओ) – Nepal Press

उद्योगी-व्यवसायीद्वारा सडक आन्दोलनको घोषणा : बैंक ब्याज वृद्धि र उद्योग तथा व्यापारमा सिण्डिकेटको विरोध (भिडिओ)

काठमाडौं । फागुन ५ गते उद्योगी व्यवसायीहरूका ९ वटा महासंघ र ३८ वटा सङ्घहरूले बैङ्कहरू विरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् ।

संघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरूका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा सङ्घहरूले बैङ्कहरू विरुद्ध वृहत् संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको बताए ।

व्यवसायीहरूले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर विरुद्ध आन्दोलन गर्ने बाध्य भएको बताएका छन् । संयुक्त मूल संघर्ष समितिका संयोजक कटुवालले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उद्योगी व्यवसायीहरूमा रहेको सिन्डिकेटका अन्त्य र बैंकको
ज्यादती विरुद्ध सडक आन्दोलन घोषणा गर्न लागेको बताए ।

समितिले लामो समयदेखि उद्योगी व्यवसायीहरूले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासीन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरू राख्न बाध्य हुनुपरेको जनाएको छ ।

संयुक्त मूल संघर्ष समितिका संयोजक नरेश कटुवालले उद्योगी व्यवसायीहरूको मागको सुनुवाइ सरकारले नगरेकाले व्यवसायीहरूले पुनः सडक आन्दोलनमा जान बाध्य भएको बताए।

संघर्ष समितिका संयोजक कटुवालले उद्योगी व्यवसायीहरूको लागि सरकार, राजनीतिक दल वा दलका नेताहरु कोही पनि जिम्मेवार नभएकाले ९ वटा महासंघ र ३८ वटा सङ्घहरूले संयुक्त सडक आन्दोलन गर्न बाध्य भएको उल्लेख गरे ।

उनले पछिल्लो कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरूका कुनैपनि माग सम्बोधन नगरेको आरोप लगाए ।

उनले उद्योग र व्यापारमा रहेको सिन्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरूको पहुँच सहितको बैंकहरुको ज्यादतीबिरुद्ध थप आन्दोलनका घोषणा गरिएको बताए । उनले फागुन ५ गते वृहत् र्यासहित सडक आन्दोलनमा सम्पूर्ण उद्योगी व्यापारीहरू उत्रने बताए ।

देशभरिका उद्योगी, व्यापारी व्यवसायी सम्बन्धित सबै ऋणीहरूलाई आन्दोलनमा सहभागी हुन आग्रह गर्दै उनले बैंकहरुले देखाएको दादागिरीको अन्त्य र निश्चित उद्योगी व्यवसायीहरूको सिन्डिकेटको विरुद्ध एक पटक एक भएर बाहिर आएको स्पष्ट पारे ।

फागुन ५ गतेको सडक आन्दोलन कुनै सत्ता प्राप्ति वा नेता बन्नको लागि नभई व्यवसायी र व्यापारीहरूको हितको लागि गर्न लागेको उनले बताए ।

फागुन ५ गतेपछि पनि सरकारले व्यवसायीहरूको माग सम्बोधन नगरेर थप आन्दोलनका कार्यक्रमहरू गर्दै जाने उल्लेख गर्दै उनले पहिलो चरणमा सम्पूर्ण उद्योगी व्यवसायीहरूले बैंकिङ कारोबार बन्द गराउने बताए।

त्यसपछि पनि राज्यले राज्यले उद्योगी व्यवसायीहरूको माग सम्बोधन नगरे सबै व्यवसायको तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिए।

कटुवालले नेपालमा उद्योग व्यापार गरेर गरिखाने अवस्था नभएको भन्दै बैंकहरुले सबैलाई सुकुम्वासी बनाउने अवस्था आएको बताए ।

संयुक्त आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ, कपडा तथा सिलाई व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ र मोबाइल व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघले साथ दिएको छ ।

महासंघमा आबद्ध ३८ वटा सङ्घहरूले आन्दोलनमा सहभागिता जनाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *