प्रचण्डको दाबी- माओवादी आगामी निर्वाचनबाट फेरि शक्तिशाली हुन्छ, भविष्य उज्ज्वल छ – Nepal Press

प्रचण्डको दाबी- माओवादी आगामी निर्वाचनबाट फेरि शक्तिशाली हुन्छ, भविष्य उज्ज्वल छ

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्ज्वल भएको बताएका छन्।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए पनि चुनौतीपूर्ण भएको बताए।

उनले भने, ‘एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चीज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ। पार्टीका पनि सबै नेता–कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिनै पर्छ।’

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता भएको उल्लेख गर्दै यो लक्ष्य हासिल गर्न सिंगो देशलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए।

उनले भने, पार्टीको स्थायी समिति बैठकले सरकारलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय गरेको छ। पार्टीको २ महिने संगठनात्मक अभियान चलाउँदै छौँ। जनता र कार्यकर्ताका कुरा सुनेर आउन भनिएको छ। अर्कोतिर पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेका छौँ। सम्भव हुने पार्टीहरूसँग तत्काल पार्टी एकता गर्छौँ, तत्काल एकता सम्भव नहुने पार्टीहरूसँग समाजवादी मोर्चा बनाएर एकताको आधार तयार पार्छौँ।’

उनले पुस २६ मा प्रतिनिधिसभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भएको बताए।

उनले भने, पुस २६ को प्रतिनिधिसभामा जुन विश्वासको मत प्राप्त भयो। त्यो इतिहासकै अभूतपूर्व रह्यो। त्यसले माओवादी आन्दोलनप्रति न्याय भएको छ, यसको नेतृत्वप्रति न्याय भएको छ। त्यो मत प्रधानमन्त्रीलाई प्राप्त मत मात्र होइन, परिवर्तनको नीति र नेतृत्वलाई प्राप्त मत हो। यसले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगप्रति पनि न्याय भएको मैले महसुस गरेको छु।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर