अनेरास्ववियुको महाधिवेशनपछि आउने नेतृत्वलाई पर्खिरहेका यी ६ कार्यभार – Nepal Press

अनेरास्ववियुको महाधिवेशनपछि आउने नेतृत्वलाई पर्खिरहेका यी ६ कार्यभार

विद्यार्थी आन्दोलन केही नेताको राजनीति सेटल गर्ने प्लेटफर्म र केही व्यक्तिका आपराधिक गतिविधिको मैदान बन्न सक्दैन

देशको सबैभन्दा ठूलो र पुरानो विद्यार्थी संगठन अनेरास्ववियु आफ्नो २३ औ राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको छ । यही मिति २०७९ फाल्गुन २ देखि ३ गतेसम्म सम्पन्न हुने राष्ट्रिय महाधिवेशनले विद्यार्थी आन्दोलनलाई नयाँ नेतृत्व मात्र दिने नभई नवीन ऊर्जा र दिशा समेत प्रदान गर्नेछ ।

नेपालको विद्यार्थी आन्दोलनले थुप्रै चुनौती र आलोचनाहरू सामना गरिरहेको सन्दर्भमा यस महाधिवेशनलाई सबै पक्षबाट महत्त्वका साथ हेरिएको छ । उसै पनि अनेरास्ववियुको आन्तरिक जीवनमा पनि लामो समयपछि महाधिवेशन हुँदैछ । नियमित महाधिवेशन नभएको पनि ७ वर्ष हुन लागेकाले पनि यो महाधिवेशन धेरै अर्थमा ऐतिहासिक छ ।

गत असोज १ र २ मा सम्पन्न अनेरास्ववियुको नीति तथा विधान महाधिवेशन मार्फत नीतिगत रूपमा हामीहरूले आफ्नो वैचारिक प्रष्टता एवम् आगामी कार्यदिशाका बारेमा महत्त्वपूर्ण विषयहरू उठान गरेका छौँ । अब हामीले व्यवहारिक रूपमा विद्यार्थी संगठन एवम् आन्दोलनको चरित्रका विषयमा आम विद्यार्थी र सरोकारवालाहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्नेछ ।

प्रस्तुत लेखमा केही विषयहरू प्रष्ट्याउने प्रयास गरिएको छ ।

संगठन

मुलुक संघीय प्रणालीमा गइसकेपछि देशको शैक्षिक क्षेत्रको पुनर्संरचना भएको छ । यस सन्दर्भमा विद्यार्थी संगठन एवम् आन्दोलनको समेत पुनः संरचना जरुरी छ । पुनः संरचना सांगठनिक रूपमा मात्र नभई आन्दोलनको मूल्य प्रणालीको पनि हुन आवश्यक छ ।

अनेरास्ववियुको उपस्थितिलाई शैक्षिक संस्थाहरूमा राजनीतिक गतिविधिहरू सञ्चालनको साँघुरो घेरामा मात्र सीमित गर्ने नभई आजको विद्यार्थीको दबिएको आवाजलाई मुखरित गर्ने ऊर्जाशील संगठनको रूपमा स्थापित गर्न हाम्रो ध्यान जानुपर्दछ ।

सांगठनिक रूपमा हामीहरूले “जहाँ विद्यालय त्यहाँ अनेरास्ववियु”को अवधारणालाई आत्मसात् गरेका छौँ भने भूमिकाको रूपमा हामीहरूले “जहाँ सरकार त्यहाँ प्रतिपक्ष” अनेरास्ववियुको मान्यता अङ्गीकार गरेका छौँ । यदि विद्यार्थी आन्दोलनको मूल्य प्रणाली र चरित्रमा पुनर्व्याख्या हुन सकेन भने हालकै स्वरूपमा जहाँ विद्यार्थी त्यहाँ अनेरास्वियुको अवधारणामाथि प्रश्न उठ्न सक्नेछन् भन्नेमा हामीहरू सचेत छौँ ।

अनेरास्ववियुको उपस्थितिलाई शैक्षिक संस्थाहरूमा राजनीतिक गतिविधिहरू सञ्चालनको साँघुरो घेरामा मात्र सीमित गर्ने नभई आजको विद्यार्थीको दबिएको आवाजलाई मुखरित गर्ने ऊर्जाशील संगठनको रूपमा स्थापित गर्न हाम्रो ध्यान जानुपर्दछ । त्यस कारण हामीहरू यस महाधिवेशन मार्फत विद्यार्थी आन्दोलनको चरित्रमा पुनर्व्याख्या मार्फत यसको सिर्जनात्मक (Creative) एवम् नवप्रवर्तनमुखी (Innovative) छवि निर्माण गर्नेछौँ ।

शैक्षिक असमानताविरुद्ध खबरदारी

विद्यार्थी आन्दोलनको पुनः संरचना भनेको सारमा नेपालको सार्वजनिक शिक्षामा जहाँ जहाँ समस्याहरू रहेका छन्, त्यहाँ त्यहाँ प्रहार गर्ने र सकारात्मक रूपान्तरणको शंखघोष गर्ने हो । नेपालको सार्वजनिक शिक्षामा मुख्य गरी पहुँच, गुणस्तर, सम न्यायिकता, शिक्षा क्षेत्रका प्रभावकारी प्रशासनसँग जोडिएका समस्याहरू रहेका छन् ।

नेपालको संविधानले शिक्षा सम्बन्धी अधिकारलाई मौलिक अधिकार को सुनिश्चितता प्रदान गरे पनि यसको व्यवहारिक कार्यान्वयन अझै हुन सकिरहेको छैन । सामाजिक संरचनाको पिँधमा रहेका धेरै विद्यालय–उमेरका बालबालिकाहरू गुणस्तरीय शिक्षाको पहुँचबाट बाहिर छन् । उनीहरूलाई शैक्षिक मूलधारमा ल्याउन व्यापक हस्तक्षेपको खाँचो छ । यसका लागि हाम्रो विद्यार्थी आन्दोलनले नेतृत्व लिनु पर्नेछ।

हाल ग्रामीण भेगको कुनै सरकारी विद्यालय र काठमाडौँको महँगो विद्यालयमा अध्ययन गर्ने दुई वर्गका विद्यार्थीले प्राप्त गरिरहेका सुविधा र अवसरको बीचमा रहेको अन्तरले राज्यको अन्यायपूर्ण व्यवहारलाई प्रतिबिम्बित गर्दछ ।

हाल ग्रामीण भेगको कुनै सरकारी विद्यालय र काठमाडौँको महँगो विद्यालयमा अध्ययन गर्ने दुई वर्गका विद्यार्थीले प्राप्त गरिरहेका सुविधा र अवसरको बीचमा रहेको अन्तरले राज्यको अन्यायपूर्ण व्यवहारलाई प्रतिबिम्बित गर्दछ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लक्ष्य बोकेर हिँडेको राज्यका लागि शिक्षामा यो खालको विभेद सह्य हुनुहुँदैन ।

शिक्षा र सीपको संयोजन

आजको शिक्षामा अर्को महत्त्वपूर्ण चुनौती भनेको शिक्षालाई सीप विकाससँग एवम् सीपलाई उद्यमशीलतासँग कसरी जोड्ने भन्ने हो । १० वर्ष अगाडि अनेरास्वियुको आयोजनामा सम्पन्न बृहत् शैक्षिक सम्मेलन २०६८ ले यस सम्बन्धमा व्यापक छलफल गरी ठोस प्रस्तावहरू गरेको छ । ती प्रस्तावहरूको कार्यान्वयनका सन्दर्भमा अपेक्षित रूपमा हस्तक्षेपकारी भूमिका खेल्न सकिएको अवस्था छैन । राजनीतिक संक्रमणको बीचमा विद्यार्थी सङ्गठनहरू पनि एजेण्डा र सक्रियताका दृष्टिले कुहिरोमा हराएको काग जस्तो बनिरहेका त होइनन् ? भन्ने आशंका जन्मिरहेका छन् । हाल परिवर्तित सन्दर्भमा ती प्रस्तावहरूलाई समयानुकूल बनाउँदै हाम्रो नेतृत्वको संगठनले ठोस प्रस्ताव सहितको हस्तक्षेप गर्नेछ ।

विद्यार्थी आन्दोलनको शुद्धीकरण

हाल टड्कारो रूपमा उठिरहेको अर्को विषय हो– विद्यार्थी आन्दोलनको शुद्धीकरण । विद्यार्थी आन्दोलनलाई विद्यार्थी केन्द्रित बनाउने, सङ्गठनहरूका गतिविधिलाई सामाजिक मूल्य र मान्यताको कसीमा अब्बल देखिने गरी सञ्चालन गर्ने, विद्यार्थी आन्दोलनको नाममा हुने कुनै पनि गतिविधिले विद्यार्थीको सार्वभौम अधिकारलाई कुण्ठित गरेको छैन भन्ने सुनिश्चित गर्नुपर्छ ।

विद्यार्थी आन्दोलन विगत केही समयदेखि विद्यार्थीहरूका हक हितको सामूहिक सौदाबाजी गर्ने संगठन भन्दा पनि विद्यार्थी नेताहरूको राजनीतिक भविष्य सुरक्षित गर्ने प्लेटफर्ममा मात्र सीमित भएको भनी आलोचना हुने गरेको छ ।

यति मात्र होइन विद्यार्थी संगठनहरूलाई केही मान्छेहरूले आफ्ना आपराधिक कर्महरूलाई ढाकछोप गर्ने माध्यम बनाउने गरेको भनी आलोचना हुने गरेको छ ।

विद्यार्थी संगठनहरूबीच सृजनशीलता र रूपान्तरणमा प्रतिस्पर्धा गर्ने विषय आन्दोलनको शुद्धीकरणका एजेन्डा बन्नुपर्दछ । विद्यार्थी आन्दोलन विगत केही समयदेखि विद्यार्थीहरूका हक हितको सामूहिक सौदाबाजी गर्ने संगठन भन्दा पनि विद्यार्थी नेताहरूको राजनीतिक भविष्य सुरक्षित गर्ने प्लेटफर्ममा मात्र सीमित भएको भनी आलोचना हुने गरेको छ ।

यति मात्र होइन विद्यार्थी संगठनहरूलाई केही मान्छेहरूले आफ्ना आपराधिक कर्महरूलाई ढाकछोप गर्ने माध्यम बनाउने गरेको भनी आलोचना हुने गरेको छ । यो प्रवृत्ति विद्यार्थी आन्दोलन र समग्र शैक्षिक क्रान्तिका लागि घातक छ । यसले एकातिर विद्यार्थी आन्दोलनमा रुचि भएका क्षमतावान् र सृजनशील विद्यार्थीहरूलाई आन्दोलनबाट अलग्याउने अनि अर्कोतिर नयाँ विद्यार्थीहरूलाई आन्दोलनमा आकर्षित गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।

विद्यार्थीको सहभागिता बिना हुने विद्यार्थी आन्दोलनले विद्यार्थीको सामान्य इच्छा (General Will) को प्रतिनिधित्व गर्ने भन्दा पनि नेतृत्वको राजनीतिक इच्छा (Political Will) को ज्यादा सेवा गरेको हुन्छ । यस तर्फ अनेरास्ववियुको सम्मुखको महाधिवेशन ले व्यापक पुनर्विचार गर्नेछ ।

शिक्षामा लगानी, लगानीको रखवाली

हाल देशको सार्वजनिक शिक्षाको गुणस्तर नाजुक बन्दै गइरहेको छ । एकातिर देशभित्र सामुदायिक विद्यालयबाट विद्यार्थीहरू निजी विद्यालयमा सर्ने प्रवृत्ति बढ्दै छ भने अर्कोतिर वैदेशिक अध्ययनका लागि वार्षिक चालिस अर्ब भन्दा बढी रकम विदेशिने गरेको छ । चालु आर्थिक वर्षमा संघीय सरकारको वार्षिक बजेटको करिब ११ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा विनियोजन भएको छ ।

आजको विद्यार्थी नेतृत्व आजको लागि शैक्षिक रूपान्तरणको सारथि हो भने भोलिको मूलधारको राजनीतिको सम्भावित नेतृत्व हो ।

प्रदेश तथा स्थानीय सरकारहरूले पनि शिक्षा क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने गरेका छन् । यस सन्दर्भमा एउटा चिनियाँ उक्ति उल्लेख गर्नु सान्दर्भिक हुन्छ – तिमि एक वर्षको योजना गर्दै छौ भने धान रोप । तिमि १० वर्षको योजना गर्दै छौ भने वृक्षारोपण गर । तिमि १०० वर्षको योजना गर्दै छौ भने शिक्षामा लगानी गर ।’ यसले सार्वजनिक शिक्षामा गरिने लगानीको सान्दर्भिकता प्रष्ट्याउँछ ।

तर सरकारले गरेको लगानीले आशातीत प्रतिफल दिन सकेको छ कि छैन भन्ने प्रश्न अझ टड्कारो रूपमा उठेको छ । अनेरास्ववियुले शिक्षामा लगानी बढाउनका लागि दबाब समूहको भूमिका खेल्नेछ भने लगानीले उचित प्रतिफल दिए नदिएको मापन गर्न सामाजिक परीक्षण गर्नेछ । यस सन्दर्भमा अनेरास्ववियुलाई सुधारको विश्वासिलो सारथि बनाउने दृढ इच्छाशक्ति र स्पष्ट कार्य योजना सहितको नेतृत्व आजको आवश्यकता हो ।

हाल धेरै विद्यार्थीहरूमा ३–४ वटा विषयमा डिग्री हासिल गर्ने प्रचलन बढ्दै गएको छ । सोको तुलनामा रोजगारी सिर्जनामा बढोत्तरी भएको छ कि छैन एवम् उत्पादकत्व बढ्न सकेको छ कि छैन भन्ने प्रश्न यस सन्दर्भमा महत्त्वपूर्ण हुन आउँछ ।

एउटा डिग्री हासिल गरेको मान्छे र दुई वटा डिग्री हासिल गरेको मान्छेको उत्पादकत्वमा तात्त्विक भिन्नता छैन भने उक्त डिग्री हासिल गर्नुको अर्थ–सामाजिक दृष्टिले कुनै महत्त्व रहँदैन । बरु राज्यको लगानीले उत्पादन दिन नसकेको अर्थमा यसलाई बुझ्नुपर्दछ । यस प्रकारको प्रवृत्तिमा पनि हाम्रो बहस हुन जरुरी छ ।

विचारमा प्रष्ट, व्यवहारमा सदाचारी नेतृत्व

अहिलेको विद्यार्थीले विद्यार्थी नेतृत्वसँग सर्वाधिक खोजी गरिरहेको विषय भनेको विचारमा प्रष्टता र व्यवहारमा सदाचारिता हो । आजको विद्यार्थी नेतृत्व आजको लागि शैक्षिक रूपान्तरणको सारथि हो भने भोलिको मूलधारको राजनीतिको सम्भावित नेतृत्व हो । यसको निर्माण र विकास कसरी हुन्छ भन्ने कुरा भविष्यको सुनिश्चिततासँग जोडिएको हुन्छ ।

विचारमा प्रष्टता र व्यवहारमा सदाचारिताले विद्यार्थी आन्दोलन र शैक्षिक रूपान्तरणलाई नयाँ गति र दिशा प्रदान गर्दछ । अहिलेको विद्यार्थी नेतृत्वले राजनीतिक प्रणाली र प्रक्रिया प्रति युवा पुस्तामा आशा जगाउन सक्ने छवि निर्माण गर्न सक्नुपर्दछ ।

हामीहरूले विद्यार्थी आन्दोलनमार्फत उठान गर्ने खोजेको अर्को विषय नवप्रवर्तनको हो । शिक्षण विधि एवम् पाठ्यक्रममा नवीनता ल्याउने देखि खोज र अनुसन्धानमा विशेष रुचि भएका विद्यार्थीहरूका लागि उपयुक्त पूर्वाधार उपलब्ध गराउने विषयमा हाम्रो अभियान केन्द्रित हुन जरुरी छ ।

अहिलेको भर्चुअल दुनियाँमा नेपालका दूर दराजका सरकारी विद्यालय एवम् विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई विदेशका उच्चस्तरका विद्यालय र विश्वविद्यालयसँग जोड्न सकेमा विद्यार्थी, शिक्षक एवम् प्राध्यापकहरूको International Exposure हुन सक्छ ।

त्यसका लागि विद्यार्थी संगठनले सम्भावनाहरूको खोजी गर्न आवश्यक भूमिका खेल्न सक्दछन् । विदेशमा रहेका नेपाली डायस्पोराहरू मार्फत यस किसिमको प्रयासलाई सार्थक बनाउन सकिन्छ ।

नेतृत्वको निर्माण अनुकूलताले सिर्जना गरेका अवसरहरूबाट होइन प्रतिकुलताहरूले सिर्जना गरेका चुनौतीहरूको परीक्षणबाट हुन्छ । विद्यार्थी आन्दोलनभित्र आन्दोलनमा क्रियाशीलता र क्षमता देखाएर भन्दा पनि क्रमशः बढुवा हुँदै जाने प्रवृत्ति देखिएको छ । यसले आन्दोलन भित्र Charismatic Leadership विकास हुनमा बाधा उत्पन्न गर्ने तथा वैचारिक एवम् सांगठनिक पुनर्जागरण कमजोर हुने अवस्था सिर्जना हुन्छ ।

अतः आन्दोलनभित्र Step–by–step Leadership भन्दा पनि Competitive Leadership को विकास आजको आवश्यकता हो । यो महाधिवेशनले यस पक्षमा विशेष जोड दिनेछ । यसले भर्खर राजनीतिक चेतना विकास हुँदै गरेका विद्यार्थीहरूबीच समेत राजनीतिक भूमिका मार्फत पनि सार्थक हस्तक्षेप गर्न सक्ने विश्वास विकास गराउँदछ ।

अन्त्यमा, अनेरास्ववियुको २३ औ राष्ट्रिय महाधिवेशन ले वैचारिक रूपमा आफूलाई प्रष्ट्याउनेछ । सांगठनिक रूपमा चुस्त, सक्रिय र अनुशासित संगठनको निर्माण र विकास गर्नेछ । व्यवहारिक रूपमा आजका विद्यार्थीहरूले भोगेको र खोजेको विषय जो जसले सुन्नुपर्ने हो ती व्यक्ति र संस्थाले सुन्ने गरी मुखरित गर्नेछ ।

समग्रमा विद्यार्थी आन्दोलनलाई आन्दोलनको रूपमा मात्र होइन, एउटा अभियानको रूपमा विकास गर्नेछ – जसले निरन्तर रूपमा विद्यार्थीको हक हितको विषयमा आवाज बुलन्द पार्दै नयाँ आशा र भरोसा जगाउनेछ ।

(बडाल अनेरास्ववियुका महासचिव हुन्)

प्रतिक्रिया

One thought on “अनेरास्ववियुको महाधिवेशनपछि आउने नेतृत्वलाई पर्खिरहेका यी ६ कार्यभार

  1. आर आर क्याम्पसमा खुकुरी हान्न निर्देशन दिने समिक बडाललाई लाज लाग्नुपर्ने हो । जसले आरसी लामिछानेको मान्छे सक्याउने धम्की दिएकै भोलीपल्ट आर आर क्याम्पस अनेरास्ववियुका नेताहरु मदन भण्डारी , लोकेस खड्का आदिको ज्यान लिने उदेश्यको साथ खुकुरी हान्न लगाएको होईन र?
    खुकुरी हान्ने अहिले पुर्पक्षको लागि कारागारमा छन् । निज व्यक्ति भन्छन , “समिक दाईले जबर्जस्ती आर आर मा भर्ना गर्न लगाउनुभयो” । अझै केही व्यक्तिका आपराधिक गतिविधिको मैदान बन्न सक्दैन भन्न लाज लाग्दैन , बडाल कमरेड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर