सुदूरपश्चिममा कमल र प्रकाशको क्यामेष्ट्री, दलको नेता छोड्दा भौतिक मन्त्री ‘उपहार’ – Nepal Press

सुदूरपश्चिममा कमल र प्रकाशको क्यामेष्ट्री, दलको नेता छोड्दा भौतिक मन्त्री ‘उपहार’

कैलाली । पुस १० अघि सम्म सुदूरपश्चिम प्रदेशको राजनैतिक माहोल फरक थियो । माओवादी कांग्रेस गठबन्धनको स्पष्ट बहुमत रहेको सुदूरपश्चिममा माओवादी र कांग्रेस दुवैले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

त्यो बेला सम्म दुबैका संसदीय दलका नेता छनोट भएका थिएनन् । तर, माओवादीबाट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज खगराज भट्ट दलको नेता बन्ने निश्चित जस्तै थियो । उनलाई माओवादीकै ओम विक्रम भाट सरलले काउन्टर दिए पनि अन्ततः भट्ट नै दलको नेता बने ।

कांग्रेसमा भने केन्द्रीय सभापति शेरबहादुर देउवाको सहोदर भतिजा प्रकाश देउवालाई संसदीय दलको नेताको रुपमा सबैले चित्रण गरेका थिए । देउवा सहित आधा दर्जन दलको नेताका आकांक्षी रहेपनि पुस २० मध्य दिन सम्म धेरैले देउवालाई नै दलको नेता बुझेका थिए ।

बहादुर सिंह थापा, प्रकाश देउवा, दिवानसिंह विष्ट, मेघराज खड्का प्रकाश बम, मानबहादुर रावल र शिवराज भट्ट गरी ७ जनाको दाबी रहेपनि थापा, देउवाकै सम्भावना अधिक रहेको थियो । तर, थापा र देउवालाई नै समर्थक र प्रस्तावक राखेर दलको नेता भएका कमल शाह अहिले प्रदेशको मुख्यमन्त्री छन् ।

त्यो बेला केन्द्र भरी एमाले माओवादीको समीकरणमा सरकार बनिरहेका बेला सुदूरपश्चिम प्रदेशमा त्यो समीकरण भत्काउन शाहलाई दलको नेता बनाइएको थियो ।

नागरिक उन्मुक्तिसँग मिलेर कांग्रेसले सरकार बनाउन शाहलाई दलको नेता बनाइएको हो । ‘दलको नेता भएर उहाँले दल हेर्नुहुन्छ । सरकारमा प्रकाश देउवाको नेतृत्वमा जाने सहमति हो’ एक नेताले भने ‘अहिले दलको नेता मुख्यमन्त्री बन्नुभयो उहाँको पहिलो रोजाइमा प्रकाश देउवा पर्नुभयो ।’

मुख्यमन्त्रीले आफूले शपथ ग्रहण गरिसकेपछि कांग्रेसबाट पहिलो मन्त्री देउवालाई नियुक्त गर्दा आफूलाई दलको नेता बनाउन गरेको पहल कै नतिजा बुझेका छन् ।

नवनियुक्त मुख्यमन्त्री शाह कैलालीको कांग्रेस सभापति निर्वाचित गर्दा समेत निर्णायक शक्तिका रुपमा देखा परेका थिए । जिल्ला सभापतिका लागि संस्थापन पक्षका नारायणदत्त भट्ट, संस्थापन इतर समूहबाट प्रकाशबहादुर बम र रामबहादुर कलेल सभापतिको उम्मेदवार बनेका थिए ।
शाहकै भूमिकाले कैलालीमा भट्ट पार्टी सभापति चुनिएका थिए ।

त्यहि बेलादेखि कोइराला टिमबाट देउवा टिममा आइपुगेका शाहलाई प्रकाश देउवाले केन्द्रीय सभापति शेरबहादुर देउवाको आग्रहमा दलको नेतामा समर्थन गरेका थिए । अहिले त्यहि बापत देउवालाई मुख्यमन्त्री शाहले पहिलो चरणमै भौतिक मन्त्री बनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर