राष्ट्रपति र गृहमन्त्रीबारे ओली, लिङदेन र लामिछानेको एउटै बोली, संयन्त्रमा एक्लिए प्रचण्ड – Nepal Press

राष्ट्रपति र गृहमन्त्रीबारे ओली, लिङदेन र लामिछानेको एउटै बोली, संयन्त्रमा एक्लिए प्रचण्ड

काठमाडौं । धेरै दिनसम्म आनाकानी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज उच्चस्तरीय संयन्त्रको बैठक बस्न राजी भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयन्त्र बैठकमा उनले सोचे जस्तै प्रतिकूलताको सामना गर्नुपर्‍यो ।

आजको बैठकमा चार दलको मात्रै उपस्थिति थियो । ओली र प्रचण्डसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बैठकमा आए भने गठबन्धनभित्र रहेका तीन मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरु विभिन्न बहाना गरेर आएनन् ।

बैठकमा सरकारका कामहरुको समीक्षाका साथै भावी राष्ट्रपति र रास्वपालाई सरकारमा फर्काउनेबारे छलफल भएको थियो ।
केही दिनअघि मात्रै सरकारबाट बाहिरिएको रास्वपालाई उसको भागमा परेको गृह मन्त्रालय फिर्ता गरेर फेरि सरकारमा ल्याउने विषयमा संयन्त्रमा छलफल भएको स्रोतले बतायो ।

बैठकमा एमाले अध्यक्ष शर्मा ओली र राप्रपा अध्यक्ष लिङदेनले पूर्वसहमति कार्यान्वयन गर्दै रास्वपालाई गृह दिनुपर्ने धारणा राखेका थिए । रास्वपा सभापति लामिछानेले पूर्वसहमतिअनुसार गृह मन्त्रालय पाएको खण्डमा सरकारमा फर्किनसक्ने पहिल्यै बताइसकेका छन् ।

तीन पार्टीको चेपुवामा परेका प्रचण्डले स्पष्ट जवाफ दिन सकेनन् । यद्यपि उनी रास्वपालाई सरकारमा फर्काउनुपर्नेमा भने सहमत थिए ।

स्रोतले भन्यो, ‘पूर्वसहमतिअनुसार रास्वपालाई गृह दिने विषयमा प्रधानमन्त्रीले ठोस जवाफ दिनुभएन । पार्टीले गृह मन्त्रालय आफैं राख्नुपर्ने निर्णय गरेकाले उहाँलाई अप्ठेरो परेको हुनसक्छ ।’

भावी राष्ट्रपतिको विषयमा पनि उस्तै माहोल बन्यो । पूर्वसहमति कार्यान्वयन गर्दै आफ्नो पार्टीलाई राष्ट्रपति दिनुपर्ने ओलीको अडानलाई लिङदेन र लामिछानेले समर्थन गरेका थिए । प्रचण्डले सुरुमा सबैको साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने आशय व्यक्त गरे पनि तीन नेताहरुको दबाबमा परेपछि त्यसमा अडान लिन नसकेको स्रोतको भनाइ छ ।

यदि आजको बैठकमा जसपा, जनमत र उन्मुक्ति पार्टीका अध्यक्षहरु पनि भएको भए माहोल अलि भिन्न हुन सक्थ्यो । ती तीनवटै पार्टी एमालेभन्दा माओवादीप्रति झुकाव राख्छन् । उनीहरु नहुँदा प्रधानमन्त्री एक्लिए ।

बैठक कुनै निष्कर्षमा पुगेन । तर, एमाले, रास्वपा र राप्रपाले भने गठबन्धनभित्रको पूर्वसमझदारी पालना गर्न प्रचण्ड लचिलो बनेको ठानेका छन् ।

प्रतिक्रिया

One thought on “राष्ट्रपति र गृहमन्त्रीबारे ओली, लिङदेन र लामिछानेको एउटै बोली, संयन्त्रमा एक्लिए प्रचण्ड

  1. नभए सत्ता र शक्ति बिकेन्द्रित हुने देखियो, संयन्त्रका नेताहरूले उचित ध्यान दिन सकेन भने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर