रोनाल्डोदेखि बाबर आजमसम्मः जसले यौन उत्पीडनको आरोप झेल्दै राष्ट्रिय टीमबाट खेले – Nepal Press

रोनाल्डोदेखि बाबर आजमसम्मः जसले यौन उत्पीडनको आरोप झेल्दै राष्ट्रिय टीमबाट खेले

बलात्कार मुद्दामा जमानतमा छुटेर रुबेल हुसेनले खेलेका थिए विश्वकप क्रिकेट

काठमाडौं । पूर्वकप्तान सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टीममा समावेश गरिएपछि सामाजिक सञ्जालमा केही व्यक्तिहरुले प्रश्न उठाइरहेका छन् । यौनजन्य कसुरमा आरोपित व्यक्तिलाई टीममा समावेश गर्न नमिल्ने उनीहरुको तर्क छ ।

अन्तर्राष्ट्रियस्तरमा हेर्ने हो भने थुप्रै नाम चलेका खेलाडीहरु सन्दीप जस्तै आरोपमा मुछिएका छन् । गम्भीर आरोप लागेको वा अदालतबाट धरौटीमा छुटेका खेलाडीहरु राष्ट्रिय टीमबाट खेलेका छन् कि छैनन् त ? केही दृष्टान्त यहाँ पेश गरिएको छ ।

१. रुबेल हुसेन

सन् २०१५ को एकदिवसीय विश्वकप पूर्वसन्ध्यामा बंगलादेशी बलर रुबेल हुसेन बलात्कार आरोपमा गिरफ्तार भए । उनीविरुद्ध नायिकासमेत रहेकी पूर्वप्रेमिका नाज्निन अख्तर ह्याप्पीले बलात्कारको आरोप लगाएकी थिइन् ।

१९ वर्षीय ह्याप्पी विवाह गर्ने प्रलोभन देखाएर हुसेनले बलात्कार गरेको भन्दै प्रहरीकहाँ पुगेकी थिइन् । प्रहरीले हुसेनलाई पक्राउ ग¥यो । तर, प्रहरी हिरासतमा पुगेको तीन दिनपछि उनलाई अदालतले जमानतमा छाड्ने आदेश दियो । केही महिनापछि हुसेन बंगलादेशको विश्वकप टोलीमा समावेश भए । उनले इङ्ल्यान्डविरुद्ध बंगलादेशले प्राप्त गरेको जीतमा निर्णायक प्रदर्शन गरेका थिए ।

पछि प्रहरीले हुसेनविरुद्ध बलात्कारको कुनै प्रमाण नभेटिएको भन्दै मुद्दा चलाउन नपर्ने निष्कर्ष निकाल्यो । उक्त निर्णयविरुद्ध अदालत पुगेकी नाज्निनलाई प्रहरीकै निर्णय सदर भएको सुनाइयो । हुसेनले सन् २०२१ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेर सन्न्यास लिए ।

२. क्रिस्टियानो रोनाल्डो

सन् २००९ मा विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि पनि बलात्कारको आरोप लागेको थियो । एक महिलाले अमेरिकाको लास भेगासको एक नाइट क्लबमा भएको भेटपछि रोनाल्डोले आफूलाई होटलमा लगेर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

पूर्वमोडलसमेत रहेकी ती महिला त्यतिवेला २५ वर्षकी थिइन् भने रोनाल्डो उनीभन्दा एक वर्ष कान्छा थिए । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका लागि खेलिरहेका समयमा रोनाल्डोको ती युवतीसँग भेट अमेरिकाको लास भेगासमा भएको थियो ।

घटना भएको भनिएको झन्डै ९ वर्षपछि मात्र ती महिलाले प्रहरीमा उजुरी दर्ता गरेकी थिइन् । रोनाल्डोका कानून व्यवसायीले पीडित भनिएकी महिला र रोनाल्डोबीच शारीरिक सम्पर्क भएको तर त्यो पूर्ण सहमतिमा भएको दाबी गरेका थिए । पछि सन् २०१९ मा रोनाल्डोविरुद्ध बलात्कारको प्रमाण नभेटिएको निष्कर्ष निकालिएको थियो । अदालतले पनि मुद्दा खारेज गर्ने निर्णय गरेको थियो ।

रोनाल्डोविरुद्ध बलात्कारको उजुरी परे पनि उनलाई न राष्ट्रिय टीमबाट खेल्न रोक लगाइयो न त प्रहरीले गिरफ्तार नै गर्‍यो ।

३. मखाया एन्टिनी

सन् १९९९ को सुरुमा दक्षिण अफ्रिकाका विश्व चर्चित क्रिकेटर मखाया एन्टिनीविरुद्ध बलात्कारको आरोप लाग्यो । उनी दक्षिण अफ्रिकाको राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने पहिलो अफ्रिकी मूलका खेलाडी थिए । सुरुवातमा अदालतले उनलाई दोषी ठहर गरे पनि एन्टिनी पुनरावेदन गर्न पुगेका थिए । जहाँ उनलाई निर्दोष ठहर गरियो ।

एन्टिनीले सन् २०११ सम्म दक्षिण अफ्रिकाका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेले । विवादबीच आफ्नो साथ नछाडेको भन्दै एन्टिनीले बारम्बार दक्षिण अफ्रिकी क्रिकेट बोर्डलाई धन्यवाद दिए ।

४. अमित मिश्रा

सन् २०१५ मा भारतीय क्रिकेटर अमित मिश्रा बैंगलोरबाट गिरफ्तार भएका थिए । उनीविरुद्ध एक महिलाले होटलको कोठामा दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । मिश्रासँग आफ्नो तीन वर्षदेखि चिनजान रहेको र बैंगलोर आउँदा भेट हुने गरेको उनको भनाइ थियो ।

मिश्रालाई पछि धरौटीमा छाडिएको थियो । जेलबाट छुटेपछि उनले धेरै वर्ष भारतीय टोलीमा स्थान बनाइरहे ।

५. माइक टाइसन

विश्व चर्चित बक्सर माइक टाइसन बलात्कार आरोपमा दोषी ठहर भएर ३ वर्ष जेल बसेका थिए । सन् १९९१ को जुलाईमा विश्व बक्सिङमा राज गरिरहेकै समयमा उनी गिरफ्तार भएका थिए ।

टाइसनविरुद्ध १८ वर्षीया किशोरीले होटल रुममा लगेर बलात्कार गरेको आरोप लगाएकी थिइन् । तर, टाइसनले सहमतिमै शारीरिक सम्पर्क भएको दाबी गरेका थिए । तीन वर्ष जेल बसेर सन् १९९५ मा छुटेका टाइसन फेरि खेलमा फर्किएका थिए ।

६. दानुस्का गुनथिलाका

गत टी-२० विश्वकप क्रिकेट दौरान अस्ट्रेलियामा बलात्कारको आरोप लागेपछि श्रीलंकन क्रिकेटर दानुस्का गुनथिलाका पक्राउ परे । डेटिङ एप्समार्फत कुराकानी भएपछि भेट्ने क्रममा गुनथिलाकाले बलात्कार गरेको आरोप एक महिलाले लगाएकी थिइन् ।

धरौटीमा छुटे पनि गुनथिलाका अस्ट्रेलियामै रहेका छन् । उनले पीडित भनिएकी महिलासँग भेट गर्न नपाउने, सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने र पासपोर्ट बुझाउनुपर्ने भनिएको थियो । श्रीलंका विश्वकपबाट बाहिरिएपछि नोभेम्बरमा गुनथिलाका पक्राउ परेका थिए । उनी पक्राउ परेलगत्तै श्रीलंकन क्रिकेट बोर्डले निलम्बन पनि गरेको थियो ।

७. बाबर आजम

पाकिस्तानका कप्तान बाबर आजममाथि पनि बलात्कारको आरोप छ । सन् २०२० मा हमिजा मुख्तर नाम गरेकी युवती आजमविरुद्ध बलात्कारको आरोप लगाउँदै अदालत पुगेकी थिइन् । अदालतले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । तर, लाहोर उच्च अदालतले उक्त आदेशविरुद्ध अन्तरिम आदेश दिएपछि मुद्दा प्रहरीसम्म पुगेन ।

मुख्तर फेरि नचिनेका र पहिचान नखुलेको नम्बर र व्यक्तिबाट फोन आएको भन्दै फेडेरल इन्भेस्टिगेसन एजेन्सी (एफआईए) पुगेकी थिइन् । पछि अदालतले एफआईएलाई मुख्तरले दर्ता गरेको उजुरीमा अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको थियो । तर, लाहोर उच्च अदालतले उक्त आदेशविरुद्ध अन्तरिम आदेश जारी गर्‍यो ।

बलात्कारको आरोप लागे पनि आजमले राष्ट्रिय टीमबाट बाहिर हुनुपरेन । उनी अहिले पनि पाकिस्तानी क्रिकेट टीमका कप्तान छन् । एक दिवसीय क्रिकेटको आईसीसी विश्व वरियतामा उनी एक नम्बरका ब्याट्सम्यान हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर