सन्दीपसँगै फर्कियो नेपालको स्पिन बलिङमा धार, आरिफको अनुपस्थितिमा रोहित-दीपेन्द्रलाई भार – Nepal Press
त्रिकोणात्मक क्रिकेट श्रृंखला:

सन्दीपसँगै फर्कियो नेपालको स्पिन बलिङमा धार, आरिफको अनुपस्थितिमा रोहित-दीपेन्द्रलाई भार

काठमाडौं । आगामी २ फागुनदेखि काठमाडौंमा हुने त्रिदेशीय क्रिकेट श्रृंखलाका लागि क्यानले हिजो अन्तिम १४ जनाको राष्ट्रिय टोली घोषणा गर्यो । घोषित टीम हेर्दा नेपालको बलिङ र ब्याटिङमा सन्तुलन मिलेको देखिन्छ ।

पूर्वकप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा नेपालको बलिङ संवेदनशील बनेको थियो । अहिले उनको कमब्याकसँगै नेपालको परम्परागत अस्त्रका रुपमा रहेको स्पिन बलिङ मजबुत बनेको छ । यदि फास्ट बलरहरु पनि चले र ब्याट्सम्यानहरुले आफ्नो लय समाते भने नेपालले सुखद नतिजा ल्याउन सक्छ ।

यो श्रृंखलामा नेपालका प्रतिस्पर्धी स्कटल्यान्ड र नामिबिया हुन् । स्कटल्यान्ड नेपालभन्दा बलियो टीम हो भने नामिबिया हाराहारीको । तर, होम ग्राउन्डमा नेपाल कुनै पनि प्रतिस्पर्धीलाई मात दिन सक्ने क्षमता राख्छ । नेपाली ब्याट्सम्यानहरुले पछिल्लो समय त्रिवि मैदानमा रन वर्षा गर्ने गरेका छन्, खासगरी टी-२० मा । एक दिवसीयमा पनि उनीहरुले खुलेर खेले पनि स्कटल्यान्ड र नामिबिया दबाबमा पर्ने निश्चित छ ।

पूर्वकप्तान लामिछानेले करिब ५ महिनापछि राष्ट्रिय टीममा कमब्याक गर्दैछन् । यो बीचमा उनी निकै ठूलो मानसिक यातनाबाट गुज्रिए र केही समय जेल पनि बस्नुपर्यो । उनको फर्म र फिटनेस नेपालका लागि चिन्ताको विषय थियो । तर, प्रशिक्षक मोन्टी देसाइ र छनोट समितिले सन्दीपमाथि भर गर्दै राष्ट्रिय टीममा समावेश गरेका हुन् ।

अब हेर्नु छ कि प्रतियोगितामा सन्दीप आफ्नो पुरानै लयमा प्रस्तुत हुन्छन् या हुँदैनन् । क्रिकेट बाहिरका विषयवस्तुले उनको खेललाई कति प्रभाव पारेको छ भन्ने पनि हो ।

सन्दीप जहिलेदेखि राष्ट्रिय टीममा जोडिए, उनी नेपालको सबैभन्दा ठूला ‘म्याच विनर’ का रुपमा रहे । उनको स्पिन झेल्न अन्तर्राष्ट्रिय स्तरका ब्याट्सम्यानहरुलाई पनि सहज हुँदैन । बलिङमा नेपालका थुप्रै रेकर्ड सन्दीपका नाममा छन् । उनी अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरुका अनुभवीप्राप्त पनि हुन् । यसर्थ सन्दीपबाटको कमब्याक यो अत्यन्त प्रतियोगिताका निम्ति अत्यन्तै महत्वपूर्ण छ ।

सन्दीपको अनुपस्थितिमा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले नेपालको स्पिन मोर्चा सम्हालेका थिए । उनीहरु दुवैले पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका छन् । अब सन्दीप, ललित र दीपेन्द्रको स्पिन मोर्चा नै नेपालको सबैभन्दा ठूलो अस्त्र बनेको छ । उनीहरुको सामना गर्न नामिबिया र स्कटल्यान्डका ब्याट्सम्यानहरुलाई सजिलो हुने छैन ।

नेपालको फास्ट बलिङ चाहिँ धरमराउँदो छ । सोमपाल कामी र करण केसी प्रमुख फास्ट बलरका रुपमा टीममा समावेश गरिएका छन् । उनीहरु दुवै अनुभवले खारिएका भए पनि प्रदर्शनमा कहिल्यै एकरुपता दिन सकेका छैनन् । बारम्बार उनीहरु विपक्षी ब्याट्सम्यानबाट पिटिएका छन् । त्यसैले नेपालले यो प्रतियोगितामा पनि अत्यधिकरुपमा स्पिननरमै भर पर्नुपर्ने हुन सक्छ ।

ब्याटिङमा भने नेपाल सन्तुलित देखिन्छ । आसिफ शेख र कुशल भुर्तेलले सम्भवत नेपालको ब्याटिङ सुरु गर्ने छन् । उनीहरु दुवैले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । मध्यक्रममा खेल्ने कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी नेपालका मुख्य पिल्लर हुन् । ओपनिङ जोडीले राम्रो सुरुवात दिएको खण्डमा रोहित र दीपेन्द्रले नेपाललाई ठूलो स्कोरतर्फ अगाडि बढाउन सक्छन् ।

मध्येक्रममा नेपाललाई आरिफ सेखको अनुपस्थिति भने खट्किनसक्नेछ । पछिल्लो समयमा भरपर्दा ब्याट्सम्यानको छवि बनाएका उनी नेपालका ‘संकटमोचक’ का रुपमा चिनिन्छन् । तर, अहिले उनको स्वास्थ्यको कारण देखाएर अन्तिम १४ मा समावेश गरिएको छैन । उनलाई रिजर्भमा राखिएको छ ।

आरिफको अनुपस्थितले दीपेन्द्र र रोहितलाई केही दवाव अवश्य महसुस हुने छ । उनीहरुले सम्हालिएर खेल्नुपर्ने हुन्छ । आरिफको स्थानमा सम्भवतः सन्दीप जोरा, भीम कार्की र कुशल मल्लमध्ये एकजनाले अवसर पाउनेछन् ।

नेपालले आफ्नो एक दिवसीय स्टाटस सुरक्षित राख्नका लागि यो प्रतियोगिता एकदमै महत्वपूर्ण छ । प्रतियोगितामा नेपालले नामिबिया र स्कटल्यान्डसँग दुई–दुई खेल खेल्नेछ । त्यसमा सतप्रतिशत नतिजा निकाल्नु नेपालको लक्ष्य हो । पहिलो खेल मंगलबार नेपाल र नामिबियाबीच हुने छ । नवनियुक्त प्रशिक्षक मोन्टी देसाइका लागि यो प्रतियोगिता पहिलो परीक्षा हो । उनलाई यसै साता क्यानले प्रमुख प्रशिक्षकका रुपमा औपचारिक नियुक्ती दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *