साफ महिला फुटबलमा नेपाल फेरि उपविजेतामा सीमित – Nepal Press

साफ महिला फुटबलमा नेपाल फेरि उपविजेतामा सीमित

काठमाडौं । नेपाली महिला फुटबल टोली साफ महिला फुटबलमा पहिलो उपाधि जित्ने मौकाबाट फेरि चुकेको छ ।

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा बिहीबार साँझ घरेलु टोलीसँग भिडेको नेपाल ३-० गोलले पराजित भयो ।

पहिलो हाफको अन्त्यतिर दुई गोल गर्दै बंगलादेशले नेपालमाथि दबाब बनाएको थियो । घरेलु टोलीले ४१ र पहिलो हाफको इन्जुरी समयमा गोल गरेको थियो । तेस्रो गोल ८६ औँ मिनेटमा गरेको हो । नेपालले साफ महिला फुटबलको कुनैपनि स्तरको प्रतियोगिता हालसम्म जित्न सकेको छैन ।

सिनियर साफ महिला च्याम्पिनयसिपका सबै ६ संस्करणमध्ये पाँचवटामा फाइनलमा पराजित भएको थियो भने दक्षिण एसियाली-सागअन्तर्गत महिला फुटबलका सबै तीन संस्करणमा उपविजेतामा सिमित भएको थियो । उमेरस्तरतर्फ सन् २०१८ मा आयोजना भएको पहिलो साफ यू-१८ महिला च्याम्पियनसिपमा फाइनलसम्म पुगेपनि बंगलादेशले उपाधि जित्नबाट रोकेको थियो ।

पछिल्लो समय बंगलादेश दक्षिण एसियाली महिला फुटबलमा लगातार हावी भइरहेको छ । बंगलादेशले सिनियर साफ महिला च्याम्पियनसिपमा भारतको लगातारको दबदबा गत वर्ष तोडेको थियो। सन् २०२१ मा बंगलादेशले साफ यू-१९ महिला च्याम्पियनसिपको पनि उपाधि जितेको थियो ।

यसपटक घरेलु टोली प्रतियोगितामा सुरुवातबाटै हावी देखिएको थियो । पहिलो खेलमा नेपाललाई ३-१ गोलले हराएको बंगलादेशले दोस्रो खेलमा भारतसँग गोलरहित बराबरी खेलेको थियो भने तेस्रो खेलमा भुटानलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *