ए डिभिजन लिगका लागि एन्फाले बढायो विदेशी खेलाडीको कोटा – Nepal Press

ए डिभिजन लिगका लागि एन्फाले बढायो विदेशी खेलाडीको कोटा

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ ।

नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लबहरुले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो । ए डिभिजनका अधिकांश क्लबले आफूहरूलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा यसअघि पत्र बुझाएका थिए ।

खेलाडी थप गर्ने माग लगायत शहीद स्मारक ए डिभिजन लिग सञ्चालन सम्बन्धमा बुधबार बसेको बैठकले खेलाडी कोटा बढाउने निर्णय गरेको एन्फाका प्रवक्ता सुरेश साहले बताए ।

अनुभवी खेलाडी पाउन मुस्किल भएको भन्दै क्लबहरूले कोटा थप्न माग गरेअनुसार अब क्लबले ५ जना विदेशी खेलाडी टीममा समावेश गर्न पाउने साहले जानकारी दिए । उनले टीममा एकजना एशियाली र एकजना दक्षिण एशियाका खेलाडी अनिवार्य गरिएको पनि बताए । एक खेलमा ४ विदेशी खेलाडी खेल्न पाउने प्रावधान एन्फाले ल्याएको छ ।

प्रवक्ता साहले भने, ‘पहिला क्लब र एन्फाको सहमति ४ जना विदेशी खेलाडी राख्न पाउने सहमति गरेका थियौँ, तर पछिल्लो समय खेलाडीहरू विदेश गइरहेको र नेपालमा क्लब लिग खेल्ने खेलाडीहरुको अभाव भएको भन्दै क्लबहरूले एन्फासँग विदेशी खेलाडीको कोटमा बढाउनुपर्ने माग गर्नुभएको थियो । एन्फा र क्लब पदाधिकारीबीच बुधबार बसेको बैठकमा यस विषयमा छलफल गरी अब हामीले ५ जना
विदेशी खेलाडी क्लबमा समावेश गर्न पाउने निर्णय गरेका छौँ ।’

राष्ट्रिय टीमका अधिकांश खेलाडी विदेश गएको र बजारमा समेत राम्रा खेलाडी पाउन नसकिएको भन्दै विदेशी खेलाडीको कोटा बढाउन ए डिभिजनका ११ वटा क्लबले सामूहिकरूपमा आफ्नो मागसहितको पत्र लिग निर्देशक सञ्जीव मिश्रलाई बुझाएका थिए । पछिल्लो समय राष्ट्रिय फुटबल टीमका अधिकांश खेलाडी अष्ट्रेलिया पुगेका छन् ।

शहीद स्मारक ए डिभिजन लिगमा यसअघि हरेक क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो । विदेशी खेलाडीको कोटा थप भएसँगै सुरूवाति- ११ मा ४ जना विदेशी खेलाडी राख्न पाइनेछ । एकजना विदेशी खेलाडी भने बेन्चमा रहनेछन् ।

नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट शुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगका लागि पाँचौं चरण सम्मको तालिका पनि सार्वजनिक भइसकेको छ । सार्वजनिक तालिका अनुसार उद्घाटन खेल खुमलटार युथ क्लब र फ्रेण्ड्स क्लबबीच हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर