कर्णालीमा पहुँच हुनेले मात्रै योजना पार्छन्, अब त्यस्तो हुँदैन : पर्यटनमन्त्री मल्ल – Nepal Press

कर्णालीमा पहुँच हुनेले मात्रै योजना पार्छन्, अब त्यस्तो हुँदैन : पर्यटनमन्त्री मल्ल

सुर्खेत । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले पहुँचका आधारमा योजना पार्ने तर काम नगर्ने प्रवृत्ति रहेको भन्दै अब त्यसलाई तोडिने बताएका छन् ।

प्रदेश राजधानी सुर्खेतमा बिहीबार भएको एक कार्यक्रममा मन्त्री मल्लले कर्णालीमा जडीबुटी उद्योग दर्ता ३३-३४ हजार भए पनि काम नभएको बताएका हुन् ।

‘कर्णाली धेरै उद्योग दर्ता भएको देखियो । तर, काम भएको देखिएन’, उनले भने, ‘पहुँचका आधारमा उद्योग दर्ता नगरेकैले योजना र पैसा लगेको देखियो । जसले कानूनी प्रक्रिया पूरा गरेर काम गर्छु भने उसले काम पनि पाएन, योजना पनि नपाएको देखियो ।’

मन्त्री मल्लले अब त्यस्तो नहुने बताए । ‘कर्णालीमा जडिबुटीको गतिलो ढङ्गले खोजी, पहिचान, भण्डारण र अनुसन्धान गरेर अगाडि गए यहाँका जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकिन्छ’, उनले भने, ‘कहाँनिर हलो अड्किएको छ भन्ने विषयलाई सम्बोधन गर्नुपर्ने देखिएको छ ।’

जडीबुटी खेती र व्यवसाय गर्ने व्यक्तिका लागि नीति कार्यविधिले केही अल्झन पारेको उनको भनाइ छ । कर्णालीमा पाइने जडीबुटीको प्रशोधन, ढुवानी, अनुमति र इजाजतमा समस्या हुँदा व्यवसायीले दुःख भोगेका मन्त्री मल्लले बताए ।

सङ्घीय वन ऐन, नियमावली र कार्यविधिलाई आधार मानेर कर्णाली सरकारले जडीबुटीसम्बन्धी कार्यविधि ल्याउन लागिपरेको उनले बताए ।

‘जडीबुटीका विशषेज्ञ परिचालन गर्न जरुरी छ । जनशक्तिको पहिचान गर्दै परिचालन गर्नेतर्फ प्रदेश सरकार लागिपरेको छ’, उनले भने ।

कर्णालीमा जुडिबुटीको भण्डारण, प्रशोधन र बजारीकरण कसरी गर्न सकिन्छ, प्रशोधन गर्ने विधि र प्रक्रिया के हुन् सक्छन् भन्ने विषयमा सरकारले छलफल र बहस अगाडि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *