स्कटल्यान्ड र नामिबियाका क्रिकेट बोर्डले भने- सन्दीपलाई खेलाउने विषय क्यान र आईसीसीको – Nepal Press

स्कटल्यान्ड र नामिबियाका क्रिकेट बोर्डले भने- सन्दीपलाई खेलाउने विषय क्यान र आईसीसीको

काठमाडौं । आगामी महिना हुने घरेलु क्रिकेट सिरिजका लागि पूर्वकप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा बोलाएपछि विभिन्न टिप्पणीहरू भइरहेका छन् । नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज फागुन २ गतेदेखि त्रिवि मैदानमा सुरू हुँदैछ ।

नेपालले अहिले २० जनालाई बन्द प्रशिक्षणमा राखेको छ । अन्तिम १४ जनाको छनोट भइनसकेको क्रिकेट संघका प्रवक्ता दुर्गा पाठकले बताए । २० जनाकै नाम आईसीसीमा पठाइएको उनको भनाइ छ ।

सन्दीपलाई टिममा समावेश गरिएको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठिरहेको छ । कतिपयले सन्दीपलाई अन्तिम स्क्वाडमा राख्दा नामिबिया र स्कटल्यान्डले पनि आपत्ति जनाउने सक्ने दाबी गरेका छन् । तर, यी दुवै देशका क्रिकेट बोर्डले सन्दीपलाई राख्ने/नराख्ने विषय नेपाल र आइसीसीको भएको प्रतिक्रिया दिएका छन् ।

क्रिकइन्फो डट कमका अनुसार क्रिकेट दुवै देशका क्रिकेट बोर्डले विज्ञप्ति जारी गरी समान धारणा राखेका हुन् ।

‘आइसीसी क्रिकेट वर्ल्ड कप लिग २ क्वालिफायर्स अगाडि नेपालका सन्दीप लामिछानको कानूनी स्थितिका सम्वन्धमा आएका समाचारहरूप्रति हामी जानकार छौं । यी खेलमा खेलाडीहरूको उपलब्धता नेपाल क्रिकेट संघ र आईसीसीले विचार गर्ने विषय हो,’ क्रिकेट स्कटल्यान्डले विज्ञप्तिमा भनेको छ ।

नामिबिया क्रिकेट बोर्डले पनि यही आशयमा विज्ञप्ति निकालेको क्रिकइन्फोले जनाएको छ ।

यतिबेला नेपाली टीमको बन्द प्रशिक्षण नवनियुक्त प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा त्रिवि मैदानमा जारी रहेको छ । क्यानले निलम्बन फुकुवा गर्दै टीममा समावेश गरेका सन्दीप पनि अन्य खेलाडीहरूसँगै प्रशिक्षण गरिरहेका छन् । उनको फिटनेस र फर्म राम्रो रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *