प्रचण्डले कांग्रेसलाई वचन दिनुभएको छैन, राष्ट्रपति एमालेबाटै हुन्छ : एमाले उपमहासचिव ज्ञवाली (भिडिओ) – Nepal Press

प्रचण्डले कांग्रेसलाई वचन दिनुभएको छैन, राष्ट्रपति एमालेबाटै हुन्छ : एमाले उपमहासचिव ज्ञवाली (भिडिओ)

रुपन्देही । नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने बताएका छन् ।

सत्तारुढ माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको भोलिपल्टै एमालेका प्रभावशाली नेता मानिने ज्ञवालीले यस्तो बताएका छन् ।

‘प्रचण्डले भनेको राष्ट्रिय सहमतिको राष्ट्रपतिको उम्मेदवार एमालेकै हो, यसमा कोही दुबिधा हुनुपर्दैन’ प्रेस चौतारी नेपाल, पाल्पाले शनिवार आयोजनमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने ‘राष्ट्रपति एमालेले नै पाउने हो, सत्ता गठबन्धन दलबीच भएको सहमति अनुसार नै राष्ट्रपति एमालेले पाउने विषयमा कोही अन्योल हुनुपर्ने छैन ।’

बाहिर चर्चामा आएजस्तो आफूहरू सशंकित नरहेको उनले बताए। ‘केही दलले छिर्के दाउ हानेर वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयास गरिरहेका छन्। त्यो सफल हुने छैन। सत्तागठबन्धका दलप्रति एमाले सशंकित छैन। राजनीति विश्वासले चल्ने हो। एक माघले जाडो जाने विषय पनि होइन। यो कसैलाई छिर्के हानेर दाउपेचमा राखेर राजनीति गर्ने विषय पनि होइन। इमानदारिता र निष्ठा राजनीतिका आधार हुन् यी टुटे भने केही बाँकी रहँदैनन्। विश्वास घात कसैबाट हुने छैन’, उनले भने।

अहिलेको सत्ता गठबन्धनबीच भएको सहमति र सम्झौता कार्यान्वयनमा सबै दल इमानदार रहेको उनले बताए ।आफूसँग भएको सत्तालाई सही रूपमा व्यवस्थापन गर्न नसक्दा काँग्रेसले सबै गुमाएको तर अझै पनि धमिलो पानीमा माछा मर्छ कि भनेर राष्ट्रपतिको दाउ ताकेको ज्ञवालीले बताए ।

नेता ज्ञवालीले कांग्रेसले कुनै हालतमा राष्ट्रपति नपाउने जिकिर गर्दै भने– ‘धमिलो खोलामा माछा मार्न खोजेजस्तै कांग्रेसले राष्ट्रपति लिने दाउमा छ, कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुको अर्थ राष्ट्रपति पाउने आशा हो, गठबन्धनमा खेल्न यस्तो गरिएको सबैले बुझेका छन्, प्रधानमन्त्रीज्यूले कांग्रेसलाई कुनै वचन दिएर मत माग्नु भएको छैन। पूर्व सहमतिअनुसार नै एमालेका उम्मेदवार राष्ट्रपति बन्छन्।’

जसरी पनि सत्ता पुग्नका लागि मरिहत्ते गर्ने र राज्यको दोहन गर्नेबाहेक मुलुक बनाउने भिजन कांग्रेसमा नभएको ज्ञवालीले बताए।

मुलुकमा विकास, सेवा प्रभावकारी बनाउन, सुशासन कायम गर्न र राष्ट्रिय शक्तिलाई बलियो बनाउन राजनीतिक स्थिरता आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर