राप्रपा नेपालको पुनः जागरण – Nepal Press

राप्रपा नेपालको पुनः जागरण

राप्रपा नेपाल अहिले पार्टी जीवनको एक सर्वाधिक महत्त्वपूर्ण र कठिन मोडमा उभिएका छ । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा प्राप्त गर्न सकेन ।

निर्वाचन परिणामबाट राप्रपा नेपाललाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने हाम्रो सोच, चाहना र अभियानमाथि गम्भीर ठेस मात्र लागेको होइन, पार्टीको अस्तित्व नै रहने कि नरहने भन्ने गम्भीर प्रश्न चिन्ह समेत अहिले हाम्रा सामु खडा भएको छ । हामी अहिले धेरै अनुत्तरित प्रश्नहरूबाट घेरिएका छौँ । जुन अहिलेको धरातलीय यथार्थ हो ।

यी सबै घटनाक्रमको पृष्ठभूमिमा राप्रपा नेपाल पुनर्जागृत गरेको कारणका बारेमा हामी सबैले गम्भीरता पूर्वक त्यो परिस्थितिको स्मरण गर्नुपर्दछ । हामीले कुनै पद, प्रतिष्ठा र अवसरको निमित्त राप्रपा नेपाललाई पुनर्जागृत गरेका थिएनौँ ।

तत्कालीन राप्रपाले अवलम्बन गरेको नीति, विचार, सिद्धान्त माथि गम्भीर आघात पुग्ने काम भएपछि, हाम्रा मूलभूत मान्यता र आदर्श माथि नै गम्भीर प्रश्न चिन्ह खडा भएपछि हामीले कठिन नै सही असहज र तत्कालको लागि अप्रिय जस्तो देखिने बाटो हिँड्ने निर्णय गरेका थियौँ ।

हामी तुरुन्तै ठुलो पार्टी बनेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बन्छौ भन्ने हाम्रो कुनै सपना थिएन । हामीले यो बाटो हिँड्ने निर्णय गर्दा निष्ठा, इमानदारिता र स्वाभिमानलाई केन्द्रमा राखेका थियौँ । स्वाभिमानका कारण हामीले विद्रोहको बिगुल फुकेका थियौँ । कुनै अमुक शक्तिको लाचार छाया र गोटी बन्न हामी मन्जुर भएनौँ र हामी विद्रोही भयौँ । जुन निर्णय एउटा सामान्य विषय थिएन । त्यो निर्णय सँगै हामीले एउटा स्वाभिमानको दियो बाल्यौ, आशाको।किरण जगायौँ, देश र जनताको बृहत्तर हित हुने मार्गचित्र कोर्‍यौ । असहज र लामो नै सही तर सुखद र सुनिश्चित गन्तव्यमा पुगिने यात्रामा सहभागी बन्यौँ । राप्रपा नेपाललाई हामीले शून्यबाट नै पुनर्जागरण गरेका थियौँ ।

हाम्रा पाइलै पाइलामा अवरोधहरू थिए, चुनौतीहरू थिए । हामी सबै मिलेर बाधाहरूलाई बिस्तारै छिचोल्दै अघि लाग्यौँ, चुनौतीहरूको सामना गर्दै अघि बढ्यौँ । धेरै छोटो समयमा संगठनको संरचनालाई सानो संख्यामा नै किन नहोस् देशव्यापी बनायौँ । भातृ सङ्गठनहरू निर्माण गर्‍यौं। यसले पार्टीको संरचनालाई जिवन्त बनाउन मद्दत गर्‍यो । पार्टी पुनर्जागृत गरेको थोरै समयमा नै हामीले स्थानीय तहको निर्वाचनको सामना गर्नुपर्‍यो, जुन निर्वाचनमा हामी साङ्केतिक रूपमा मात्र सहभागी बन्यौँ ।

स्थानीय तहको निर्वाचन सकिनासाथ संघ र प्रदेश तहको निर्वाचन आयो । राप्रपा नेपाल पुनर्जागृत गरेर अगाडि बढिरहेको सन्दर्भमा हामी माथि चौतर्फी घेराबन्दी र षड्यन्त्रहरू अझै बढिरहेका थिए । पार्टी र यसको नेतृत्वलाई कमजोर बनाउन, समाप्त पार्न अँध्यारो जस्केलाहरूमा विभिन्न प्रपञ्चहरू रचिँदै थियो ।

यसमा धेरै खाले शक्तिहरू संलग्न र प्रयोग भएको विभिन्न घटनाक्रमबाट नै पुष्टि भएको छ । पर्याप्त समयको अभाव, पार्टी र नेतृत्वप्रति योजनाबद्ध रूपमा फैलाइएको भ्रम र घृणा, कमजोर संगठन र परिचालन, साधन स्रोतको कमी, कमजोर आत्मबल लगायतका कारण पार्टीलाई चुनावी मैदानमा लैजान समस्या भएको विश्लेषण गर्दै नेतृत्वलाई जोगाउनको लागि ‘सूर्य’ चिन्हबाट चुनावी मैदानमा होमिने पार्टी निर्णय पनि कामयाबी हुन नसक्नु हामी सबैको निमित्त अर्को ठुलो दुर्भाग्य भयो ।

राजनीतिमा भिड मात्र महत्त्वपूर्ण होइन । नीति, विचार, योजना, कार्यक्रम र नेतृत्व महत्त्वपूर्ण हुन्छ । ताली र गाली, समर्थन र विरोध, विजय र पराजय राजनीतिको स्वभाबिक पाटो हो । वरिष्ठ राजनितीज्ञ स्वर्गीय राजेश्वर देवकोटाले गर्नुभएको टिप्पणी यहाँ प्रस्तुत गर्नु वान्छनिय ठान्दछु– ‘भीडले मात्र परिणाम दिँदैन, परिणाम दिन राम्रो बिउको आवश्यकता पर्छ, बीउ धेरै चाहिँदैन’ ।

राप्रपा नेपाल राम्रो बीउ हो । यो फैलिन्छ, झाँगिन्छ, मौलाउँछ, फल्छ । हामी यसमा ढुक्क छौँ । अहिले हामीसँग दृढतापूर्वक अड्ने, प्रतिबद्ध र निष्ठावान् नेता कार्यकर्ताहरूको आवश्यकता छ । हामी अहिले अड्न सक्यौ भने निश्चित रूपमा बढ्छौँ । हाम्रो बढोत्तरीलाई कसैले रोक्न छेक्न सक्दैन । चाँडै निराश हुने र चाँडै हौसिने प्रवृत्ति हामीमा देखिनु हुँदैन । यो हामी कसैको हितमा हुँदैन । निर्वाचनको क्रममा पार्टीको धेरै ठुलो अपेक्षा नै थिएन ।

अपेक्षा धेरै नभएको हामी सबैलाई थाहा छ, अपेक्षा नभएको विषय प्राप्ति भएन भनेर हामी धेरै निराश बन्नु तर्कसङ्गत हुँदैन । अस्वाभाविक रूपमा चिन्ताग्रस्त हुनु हुँदैन र अब हामी यसबाट बाहिर निस्कनु पर्दछ। छातीमा हात राखी आत्मालाई साक्षी राख्दै हामी आफैँले आफूलाई प्रश्न गरौँ– गएको चुनावमा हामीले कति मेहनत गर्‍यौ ? कति जनताको माझमा गयौँ ? मेहनत कम चिन्ता बढी अहिलेको समस्याको समाधान होइन । अब हामीले भविष्यको बारेको चिन्तन गरौँ । नयाँ शिराबाट पार्टीलाई अगाडि बढाउने नवीन नीति, योजना र कार्यक्रम बनाऔँ ।

निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रम र सत्ताको फोहोरी खेलले मुलुकलाई स्थिरता, सुशासन, समृद्धि र दिगो शान्तिको दिशातर्फ लैजान सक्ने अवस्था देखिएको छैन ।

सत्तालोलुप, भ्रष्ट, सिद्धान्तहीन, अवसरवादीहरूको गठ जोडले मुलुकको हित गर्दैन । अहिलेको पछिल्लो घटनाबाट पनि राप्रपा नेपालले बोकेको नीति र मार्गचित्र ठिक छ भन्ने पुष्टि गरेको छ । ढिलो चाँडो राप्रपा नेपालको एजेण्डा नै आम नेपालीको एजेण्डा बन्ने छ । त्यसको निमित्त आवश्यक छ त केवल हाम्रो सक्रियता, मेहनत र लगनशीलता । राप्रपा नेपालले लिएको लोकतन्त्र, हिन्दुत्व, सुशासन र समृद्धिको मार्गचित्र नै एक मात्र निकास हो, विकल्प हो । पार्टी अध्यक्षज्यूले दूरगामी सोचका साथ लिनुभएको लोकतान्त्रिक बाटो हिँड्ने निर्णयले राप्रपा नेपाललाई आगामी दिनमा बलियो र चिरस्थायी शक्ति बनाउने छ । यसको निमित्त अध्यक्षज्यूले लिनुभएको साहसिक निर्णयको यस अवसरमा उच्च प्रशंसा गर्न चाहन्छु ।

राप्रपा नेपाल अनुकूल समयमा स्थापित भएको राजनीतिक शक्ति होइन । यो अनेक प्रतिकूलतासँग जुधेर यहाँ सम्म आएको शक्ति हो । अहिले पनि हामी एउटा असाधारण प्रतिकूलताको सामना गरिरहेका छौँ ।

राजनीतिमा कहिलेकाहीँ असहजता र संकट व्यहोर्नुपर्ने हुन्छ । कुनै राजनीतिज्ञले भन्नुभएको थियो– ‘साहित्य भनेको फुलबारीमा डुल्नु जस्तै हो भने राजनीति भनेको आँधीबेहरीमा होमिनु जस्तै हो’ । अहिले हामीले पनि सानोतिनो आँधीको झोक्का बेहोरिरहेका छौँ ।

मलाई विश्वास छ यो असहजता, संकट र आँधीलाई व्यहोर्न सक्ने सामर्थ्य तपाईँ हामी सबै नेता कार्यकर्तामा छ ।

राप्रपा नेपाललाई अघि बढाउने सन्दर्भमा हामी बिचमा रहेका कमी कमजोरी र त्रुटिहरुको पनि हामीले निर्मम ढंगले समीक्षा गर्नुपर्ने छ । हाम्रो संगठन निर्माणको चरित्र र शैलीमा पनि धेरै ठुलो परिवर्तन गर्न आवश्यक छ । हामीले अरूको आलोचना, विरोध र कमजोरी औँल्याएर मात्रै पनि राप्रपा नेपाललाई बलियो बनाउन सक्दैनौँ ।

आफूमा रहेको कमजोरीको सुधार र परिवर्तन व्यवहारमा नै देखिने ढङ्गबाट हामी अघि बढ्नुपर्ने हुन्छ । अहिले राजनीतिक रूपमा आत्मसमर्पण, पलायन वा विलय हामीले कल्पना पनि गर्न नसकिने विषय हो । उच्च मनोबल सहित समान विचार भएका पार्टी, व्यक्ति, समूह, संघ संस्थालाई समेटेर गोलबन्द पार्दै फराकिलो भएर अघि बढ्नु आजको हामी सबैको प्रमुख कार्यभार हो । निराशालाई चिर्नु, कार्यकर्तालाई ऊर्जाशील र गतिशील बनाउनु अनि जनताको माझमा गएर विश्वास जित्नु आजको प्रमुख आवश्यकता हो । हामीमा बिस्तारै आगामी दिनमा राप्रपा नेपालको निमित्त राजनीतिक परिस्थिति अनुकूल हुँदै जानेमा कुनै सन्देह छैन । त्यसको सुरुवात भैसकेको छ ।

पार्टीलाई अगाडि बढाउने सन्दर्भमा श्रद्धेय अध्यक्षज्यूको राजनीतिक कार्यपत्रमा पार्टीको महाधिवेशनको प्रस्ताव आएको छ । यस बैठकले महाधिवेशनको मिति तय गरी पास गर्नासाथ त्यो समय सीमालाई ध्यानमा राखेर हामी साङ्गठानिक कार्यक्रमहरू ल्याउने छौँ । विभिन्न तहहरूको गठन पुनर्गठन सँगै अधिवेशनको समय निर्धारण गर्नेछौँ । यसबिचमा वडा तहदेखि पालिका, प्रदेश, संघ हुँदै ७ वटै प्रदेश स्तरीय भेला, गोष्ठी, अन्तरक्रियाको कार्यक्रमहरू राखिनेछ । हामीले यसलाई उच्च प्राथमिकतामा राखी सचिवालयसँग समन्वय गरेर महाधिवेशनलाई केन्द्रमा राख्दै चुस्त , व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न छुट्टै कार्यक्रम तालिका निर्माण गरी कार्यान्वयन गर्नेछौँ ।

अब हामीमा अलिकति पनि कहिँकतै निराशा भाव छ भने त्यो आजैका मितिदेखि, अहिल्यैबाट त्यागौं । बिस्तारै कालो बादल फाटिँदै गएको छ । हामी सकारात्मक सोच र चिन्तनका साथ पार्टी निर्माणको महाअभियानमा जुटौँ । हाम्रा सामुन्ने अत्यन्तै प्रचुर सम्भावना र अवसर छ । यसको सदुपयोग गर्दै अघि बढौँ । संकटको यस घडीमा पार्टी र विचारलाई स्थापित गर्न यो बैठकले मार्गदर्शन गर्ने विश्वास सहित यो अग्निपरीक्षामा खरो उत्रन हामी सबैलाई प्रेरणा मिलोस् ।

(राप्रपा नेपालका महामन्त्री बर्तौलाले केही दिन अघि बसेको केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनको सम्पादित अंश)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर