राष्ट्रियसभा उपनिर्वाचनमा नागरिक उन्मुक्तिको उम्मेदवारी: बार्गेनिङमात्रै कि गठबन्धनबाट निस्किने चेष्टा ? – Nepal Press

राष्ट्रियसभा उपनिर्वाचनमा नागरिक उन्मुक्तिको उम्मेदवारी: बार्गेनिङमात्रै कि गठबन्धनबाट निस्किने चेष्टा ?

रुपन्देही । लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दसौदीसँगै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय र नेपाली कांग्रेसका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन् ।

नागरिक उन्मुक्ति सत्ता गठबन्धनमै भए पनि बार्गेनिङका लागि उम्मेदवारी दर्ता गरेको सत्तारुढ अन्य दलको बुझाइ छ । सत्तारुढ दललाई दबाब दिन उसले उम्मेदवारी दिएको क्रममा नागरिक उन्मुक्तिका नेताहरुले व्यक्त गरेको धारणाबाट प्रस्ट पारेको छ ।

एमालेका दसौदीको प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल र समर्थकमा राप्रपाकी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ रहेका छन् ।

कांग्रेसका आचार्यको प्रस्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी रहेका छन् ।

नागरिक उन्मुक्तिका रायको उम्मेदवारी दर्ता गर्न पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठसमेत प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेकी थिइन् ।

सतारुढ दलभित्र रहे पनि नागरिक उन्मुक्तिका रायले उम्मेदवारी दिएपछि गठबन्धनभित्र यसको भित्री कारण खोजिएको छ । तर, पार्टी अध्यक्ष श्रेष्ठको उपस्थितिमै रायले उम्मेदवारी दिएकाले पनि यसबाट सो पार्टीले कुनै सहमतिको विकल्प खोजेको अड्कल गरिएको छ ।

राजनीतिमा नदेखिएका राय उम्मेदवार बनेका छन् उनको प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी रहेका छन् । नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले सरकारलाई समर्थन रहे पनि आफूहरु गठबन्धन दलभित्र नरहेको बताएकी थिइन् ।

‘सरकारलाई विश्वासको मत दिए पनि हामी प्रतिपक्षको बेञ्चमा छौं । हामीले उठाउँदै आएको न्यायको मुद्दा सम्बोधन नहुँदासम्म सरकारलाई हाम्रो सहयोग रहँदैन’, उनले भनिन्, ‘हामीले दिएको उम्मेदवारी फिर्ता लिँदैनौं ।’

यसअघि प्रदेश उपसभामुखको निर्वाचनमा पनि नागरिक उन्मुक्तिले उम्मेदवारी दिएर अन्तिम समयमा फिर्ता लिएको थियो । त्यसैले सत्तारुढ दलले उसको उम्मेदवारी चुनावी मितिसम्म नपुग्ने जनाएका छन् ।

एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले अहिले उम्मेदवारी दिए पनि पछि सहमतिमा टुंगिने विश्वास रहेको बताए ।

सुदूरपश्चिम प्रदेशमा विश्वासको मत नदिएर अल्झाएको नागरिक उन्मुक्तिलाई एक प्रदेश प्रमुख र राष्ट्रियसभा सदस्य दिएर मिलाउन सक्ने सम्भावना रहेको सत्तारुढ दलकै भनाइ छ । त्यसैले पनि उसले उम्मेदवारी दिएको हुनसक्ने बताइएको छ ।

सत्तारुढ दलबाटै दुई जनाको उम्मेदवारी परेपछि विपक्षी नेपाली कांग्रेसले भने पासा पल्टाउन सकिने आशा गरेको छ । कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले गठबन्धनकै मत तानेर जित्ने योजनामा पार्टी लागेको बताए ।

एमाले र कांग्रेसबाट उम्मेदवार बनेका दसौदी र आचार्य दुवै रोल्पाली हुन् । उन्मुक्तिका राय पहाड सल्यान भए पनि अहिले बाँकेमा बस्छन् । एमाले–कांग्रेसका दुवै जना पार्टीका पुराना नेता भए पनि अवसर पाएका छैनन् । दसौदी पार्टी केन्द्रीय सदस्य हुन् भने आचार्य पूर्वपार्टी सभापति हुन् ।

नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त एक सीटमा उपनिर्वाचन हुने भएको हो । उपनिर्वाचनअन्तर्गत माघ २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

उपनिर्वाचन कार्यतालिकाअनुसार माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघ १३ र १४ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ, माघ १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २-२ तथा राप्रपा र जनता प्रगतिशीलले १-१ स्थानमा जितेका छन् ।

त्यस्तै ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४-४, जसपा, लोसपा र जनमतले ३÷३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १-१ र स्वतन्त्र २ जनाले जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर