मेस्सीको विश्व च्याम्पियन शैलीमा प्रशिक्षक हुमागाईंको बागमती गोल्डकप सेलिब्रेसन ! – Nepal Press

मेस्सीको विश्व च्याम्पियन शैलीमा प्रशिक्षक हुमागाईंको बागमती गोल्डकप सेलिब्रेसन !

काठमाडौं । प्रदीप हुमागाईं चर्चामा आउन रुचाइरहने फुटबल प्रशिक्षक हुन् । सामाजिक सन्जालमा उनका स्टाटसहरु ‘रमाइला’ हुन्छन् । बंगलादेशविरुद्ध केही समयअघि भएको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको कार्यबाहक प्रशिक्षकको जिम्मेवारी पाएका हुमागाईं जीतपछि आयोजित पोस्ट म्याच कन्फेरेन्समा दिएको अभिव्यक्तिका कारण विवादमा आएका थिए।

अमेरिकामा बस्दै आएका हुमागाईंले खेलकुद पत्रकारको संस्थालाई आर्थिक सहयोग गर्ने बताएपछि विवादमा आएका थिए । त्यसपछि उक्त संस्थाले हुमागाईंको उक्त अभिव्यक्तिको कडा प्रतिवाद गरेको थियो ।

अहिले हुमागाईं नेपाली फुटबल टोलीको जिम्मेवारीमा छैनन् । तर, क्लब फुटबलमा भने निरन्तर सक्रिय देखिन्छन् । उनले प्रशिक्षण गरेको भुटानिज युथ स्पोर्ट्स क्लब (बीवाईएससी)ले केही दिनअघि पाँचौं बागमती गोल्डकपको उपाधि जितेको थियो । त्यसपछि उनले आफूले जितेका अवार्ड र ट्रफीहरु निरन्तर फेसबुकमा राखिरहेका छन् । प्रतियोगितामा उनलाई सर्वोत्कृष्ट प्रशिक्षक पनि चयन गरिएको थियो ।

लियोनल मेस्सीले विश्वकप जितेको भोलिपल्ट ट्रफीसहित सुतेको तस्विर सामाजिक सन्जालमा राखे झै‌ हुमागाई‌ले पनि आफूले जितेका ट्रफीहरु सुतिरहेको ठाउँमा राखेर खिचाएका तस्विरहरु सामाजिक सन्जालमा पोस्ट गरिरहेका छन् ।

उनले शनिबार मात्र त्यस्तै अर्को तस्विर राखेर लेखेका छन्, ‘धेरै थाकेकाले अर्को यात्रा सुरु गर्नुअघि मलाई केही दिन ‘रिफ्रेसमेन्ट टाइम’ आवश्यक छ । फुटबल प्रशिक्षकको यात्रा ।’

उनको प्रशिक्षणमा बीवाईएससी गत आहा रारा गोल्डकपको फाइनलसम्म पुगेको थियो । झापामा आयोजित प्रथम जय हुमागाई‌ं मेमोरियल गोल्डकपको उपाधि भने बीवाईएससीले जितेको थियो ।

हुमागाई‌ं थ्रीस्टार क्लबका पूर्वप्रशिक्षक हुन् । उनले नेपाल सुपर लिगमा ललितपुर एफसीलाई प्रशिक्षण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर