सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाउनेबारे क्यान अलमलमा, चतुरले भेटेर के भने ? – Nepal Press

सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाउनेबारे क्यान अलमलमा, चतुरले भेटेर के भने ?

काठमाडौं । कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टीमबाट गरिएको निलम्बन फुकुवा गर्नेबारे नेपाल क्रिकेट संघ (क्यान) अन्योलमा देखिएको छ । अदालतको आदेशमा सन्दीप रिहा भइसके पनि उनीमाथिको मुद्दा विचाराधीन नै रहेकाले क्यान दोधारमा परेको हो ।

पाटन उच्च अदालतले बलात्कार आरोपी सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा गत साता रिहा गरेको थियो । अदालतले उनीमाथि विभिन्न शर्तहरु लगाएको भए पनि क्रिकेट खेल्न रोक लगाएको छैन । त्यसैले, सन्दीप फेरि राष्ट्रिय टीममा फर्केर क्रिकेट खेल्न पाउनेमा आशावादी छन् । तर, बाह्य दवावमा परेको क्यानले निर्णय लिन सकेको छैन ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द सन्दीपमाथिको निलम्बन फुकुवा गर्न तत्पर छन् । सन्दीप रिहा भएपछि उनलाई राष्ट्रिय टीममा फर्काउने सम्भावनाबारे सकारात्मक प्रतिक्रिया दिएका थिए । तर, मुद्दा किनारा नलागुञ्जेल राष्ट्रिय टीममा फर्काउन हतार गर्नु नहुने सामाजिक सञ्जालमा आवाज उठेपछि उनी अलमलमा परेका हुन् ।

नेपाल प्रेससँग कुरा गर्दै चन्दले सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाउनेबारे आफूहरु विचार विमर्श गरिरहेको बताए ।
उनले भने, ‘अदालतले उनलाई खेल्न रोक लगाएको छैन । त्यसैले राष्ट्रिय टिममा फर्काउने विषयमा हामी सोचिरहेका छौं ।’
तर, सन्दीपलाई अदालतले विदेश यात्रा गर्न रोक लगाएको छ भने काठमाडौंबाहिर जान पनि अनुमति लिनुपर्ने भनिएको छ । त्यसैले, तत्काल उनलाई राष्ट्रिय टिममा राख्न सक्ने स्थिति भने देखिँदैन ।

यस विषयमा चन्द भन्छन्, ‘अदालतले लगाएको शर्त पनि स्थाइ हुँदैन । त्यो परिस्थिति अनुसार परिवर्तन हुन सक्छ ।’
क्यानका सचिव तथा प्रवक्ता प्रशान्त मल्लले आफूहरु सन्दीपलाई टिममा फर्काउनेबारे विभिन्न निकायसँग छलफलमै रहेको बताए । अहिलेसम्म निष्कर्षमा पुगिनसकेको उनको भनाइ छ ।

‘अहिलेसम्म हामी ५०/५० नै छौं । खेलकुद परिषद लगायत सबैसँग राय लिएपछि निर्णय लिनेछौं,’ मल्लले भने ।
नेपालले आगामी फेबु्रअरीमा आइसीसी विश्वकप क्रिकेट लिग २ श्रृंखला अन्तरगत नामिबिया र स्कटल्यान्डसँग त्रिकोणात्मक घरेलु सिरिज खेल्दैछ । आगामी साताबाट उक्त सिरिजका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु हुँदैछ । उक्त सिरिजमा खेल्नका लागि सन्दिप इच्छुक छन् । तर, त्यसका लागि क्यानले ग्रीन सिग्नल दिइसकेको छैन ।

हिजो क्यान अध्यक्ष चन्दसँग सन्दीपले भेटेर कुराकानी गरेका थिए । उक्त कुराकानीमा चन्दले सन्दीपलाई त्रिवि मैदानमा नियमित प्रशिक्षणका लागि सन्दीप आउँदा आफूहरुलाई आपत्ति नहुने बताएका छन । तर, निलम्बन फुकुवा र राष्ट्रिय टिममा फिर्ता गर्ने विषयमा उनले कुनै वचन दिन सकेनन् । यसले सन्दीपमा केही निराशा छाएको बुझिएको छ ।

सन्दीपलाई तत्काल राष्ट्रिय टीममा फर्काउँदा शारीरिक र मानसिक स्वास्थ्यको पनि कुरा आउने छ । उनी लामो समयदेखि मैदानबाट बाहिर छन् । प्रहरीले पक्राउ गरेदेखि फिटनेसमा ध्यान दिन पाएका छैनन् । साथै जेल बस्दा उनलाई डिप्रेसनको समस्यासमेत देखिएको थियो ।

अन्तर्राष्ट्रिय अभ्यास हेर्दा अदालतमा फौजदारी मुद्दा लागेका खेलाडीहरुलाई राष्ट्रिय टिमबाट नियमित खेलाइएका थुप्रै उदाहरण छन् । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजममाथि अदालतमा यस्तै प्रकृतिको मुद्दा विचाराधिन छ । तर, उनी टिमका कप्तानका रुपमा नियमित खेलिरहेका नै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर