पोल भाडा अत्याधिक वृद्धि र असमान व्यवहारविरुद्ध केबुल व्यवसायीले बोलाए आकस्मिक भेला – Nepal Press

पोल भाडा अत्याधिक वृद्धि र असमान व्यवहारविरुद्ध केबुल व्यवसायीले बोलाए आकस्मिक भेला

व्यवसायी भन्छन्- केबुल टिभीको अरबौंको लगानी ध्वस्त हुने अवस्था छ

काठमाडौं । केबुल टीभी व्यवसायीहरुले विद्युत प्राधिकरणले पोल भाडा वृद्धि गरेको तथा सञ्चार तथा सूचना मन्त्रालयले आफूहरुलाई गरेकाे असमान व्यवहारविरूद्ध आकस्मिक भेला बोलाएका छन् ।

काठमाडौं बुद्धनगरस्थित डीडीआई ब्यैंकिटमा माघ ९ गते भेला बोलाइएको हो ।

प्राधिकरणले पोलको भाडा वृद्धि गरेको तथा सरकारले नीतिगतरुपमै आफूहरुलाई असमान व्यवहार गरेको भन्दै आगामी कदमबारे भेला आयोजना गरिएको हो ।

केबुल अपरेटहरहरुले वर्षौंदेखि सञ्चार मन्त्रालयमा आवाज उठाउँदै आएपनि मन्त्रालयले नसुनेको उनीहरुको आरोप छ । जसका कारणले टिभी व्यवसाय धराशयी अवस्थामा पुगेको छ । विशेषगरी इन्टरनेटमा सम्पूर्ण कन्टेन्ट धाराप्रवाह रुपमा आउने तर टिभीको हकमा चाहीँ सन्तुलित कन्टेन्ट मात्रै देखाउनुपर्ने बाध्यता रहेको एकजना केबुल व्यवसायीले बताए । सरकारकाे यो व्यवहार र नीति असमान र विभेदपूर्ण रहेको व्यवसायीको गुनासो छ ।

सरकारको  यही असमान व्यवहारले गर्दा अहिले मानिसहरुले टिभीभन्दा मोबाइल इन्टरनेटमा बढी प्रयोग गर्ने अवस्था बनेको जसका कारण नेपालको टिभी व्यवसाय नै समाप्त हुने स्थिति सिर्जना भइसकेको भन्दै उनीहरुकाे चिन्ता छ ।

‘केबुल अपरेटर मात्रै नभएर नेपालका भएका जति टिभी ब्रोडकास्टरहरु छन्, तिनीहरुकै भविष्य धरापमा पर्ने अवस्था सिर्जना भएको छ’, एकजना व्यवसायीले नेपाल प्रेसलाई भने, ‘त्यसैले यो एकदमै गम्भीर विषय हो । अर्को कुरा नेपालमा विद्यमान राष्ट्रिय प्रशारण नियमावली छँदैछ । केबाट प्रशारण गर्ने, के प्रशारण गर्ने भन्ने पनि छँदैछ । तर त्योभन्दा बाहिर इन्टरनेटको फिल्ड एकदमै वृहत भयो । त्यसले गर्दा सरकारले त्यसलाई कन्ट्रोल गर्न सकेन । नियमन पनि गर्न नसकेको कारणले गर्दाखेरि केबुल टिभीमा लागेको अरबौंको लगानीसमेत ध्वस्त हुने भएको भन्दै यसको समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *