अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरुलाई बीमा प्राधिकरणकाे निर्देशन – Nepal Press

अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरुलाई बीमा प्राधिकरणकाे निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पाँच वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने परिकल्पनाका साथ काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज निर्जीवन बीमकसँग भएकोबीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले एक अर्काको बीमालेखको नक्कल नगरी नयाँ नयाँ बीमालेख ल्याउन तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।

अध्यक्ष सिलवालले भने,‘बीमा अभिकर्ता बीमाका बारेमा राम्रोसँग बुझेको, बीमा व्यवसायका बारेमा जानकारी भएको, बीमा कम्पनीका बारेमा थाहा भएको हुनुपर्छ । बीमा अभिकर्ता बीमा कम्पनीले छान्ने भएकाले ती विषयमा कम्पनीहरुले ध्यान दिनुपर्छ, बीमा अभिकर्ताले कम्पनीलाई बजारमा स्थापित गर्न सक्नुपर्छ, कम्पनीहरुले परिमाणभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ ।’

हालै भएको बिमान दुर्घटनाको बीमा दाबी भुक्तानीमा समस्या नरहेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘ठूला जलविद्युत आयोजना लगायत ठूला किसिमका संरचनाहरुको बीमा गराउनका लागि बीमा कम्पनीहरुबाट पनि प्रयास हुनुपर्‍यो, कम्पनीहरुले आफूले आर्जन गरेको रकमको दुई प्रतिशत कर्मचारीहरुको क्षमता अभिवृद्धिमा खर्च गर्नुपर्‍यो, त्यसका लागि कर्मचारीहरुले पनि व्यवस्थापनसँग माग गर्नुपर्‍यो कर्मचारीहरुको दक्षतालाई सूचना प्रविधिमा आवद्ध गरी विकसित गर्नुपर्‍यो ।’

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐनमा व्यवस्था भए बमोजिम एक बीमक, एक बीमा अभिकर्ता गर्नका लागि नदोहोरिने गरी प्रविधिमैत्री किसिमले बीमा अभिकर्ताको व्यवस्थापन गर्न लागिएको जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले प्राधिकरणले आफ्ना काम कारवाहीलाई प्रविधिमैत्री बनाउन जोड दिँदै आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *