लुम्बिनीका मुख्यमन्त्रीलाई सदनको विश्वास : पक्षमा ५७, विपक्षमा २८ मत – Nepal Press

लुम्बिनीका मुख्यमन्त्रीलाई सदनको विश्वास : पक्षमा ५७, विपक्षमा २८ मत

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत प्राप्त गरेका छन् । सत्तारुढ सबै दलका सांसदले उनलाई विश्वासको मत दिएका छन् । आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन् । सुरुमा सत्तारुढ नागरिक उन्मुक्तिले सदन स्थगन माग गर्दै केही समय रोकिएपनि पछि सहमतिमा सदन सुचारु भएको थियो ।

८ राजनीतिक दल र दुई स्वतन्त्र सांसदगरी गिरीलाई ५७ जनाले विश्वासको मत दिए । मुख्यमन्त्री गिरीलाई एमाले २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४-४, जसपा, लोसपा र जनमतका ३-३, नेकपा एकीकृत समाजवादी १ र २ स्वतन्त्र सांसदसहित ५८ जनाले पक्षमा मतदान गरे ।

नेकपा माओवादी स‌ंसदीय दलका नेता जोखबहादुर महराको आमाको निधन भएपछि उनी उपस्थित भएनन् र माओवादीबाट निर्वाचित तुलाराम घर्ती सभामुख भएकाले मतदानमा सहभागी भएनन् । जसले गर्दा विश्वासको मत ५७ र विपक्षमा २८ मत खस्यो । सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य भगवती घिमिरेले विश्वासको मत भने मुख्यमन्त्री लिला गिरीलाई दिएकी छन्। विपक्षमा नेपाली कांग्रेसको २७, राष्ट्रिय जनमोर्चाको एक गरी २८ जनाले मतदान गरेका छन् । सभामुख र उपसभामुख निर्वाचनमा समर्थन गरेका नेपाली कांग्रेस, र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्रीलाई विश्वासको मतमा भने विपक्षमा उभिएका छन् ।

मुख्यमन्त्रीले कुनैपनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त मानेमा विश्वासको मतका लागी प्रदेश सभा समक्ष प्रस्ताव राख्ने सक्ने प्रावधान संविधानमा छ । मुख्यमन्त्री लिला गिरीले प्रदेशलाई समृद्ध बनाउन साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘प्रदेशको समृद्धि र विकास हामी सबैको साझा लक्ष्य उद्देश्य हुन् । त्यसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु र सबै दललाई मिलाएर अघि बढेनेछु ।’

सभामुख तुलाराम घर्तीले अर्को सूचनासँगै सदनको पाँचौं बैठक बोलाउने जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर